विराटनगर । अध्यादेशबाट बजेट ल्याउने तयारी थालेको भन्दै प्रदेश नं १ का विपक्षी दलले सरकारको विरोध गरेका छन् ।
विपक्षी दलहरूले नीति तथा कार्यक्रम ल्याएर संसद्बाटै बजेट ल्याउन माग गरेका छन् । प्रदेशमा बजेट अधिवेशन आह्वान गरेर पूर्व बजेट छलफल गराउन विपक्षी चार दलले माग गरेका हुन् ।
नेकपा माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोले नीति तथा कार्यक्रम नै छल्ने र संघ सरकारको सिको गर्दै अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको बताए ।
पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका उनले अघिल्लो वर्ष पनि कोरोना कारण देखाएर अध्यादेशबाट बजेट ल्याउने भनेर दबाब आएको भएपनि आफुले नमानेको बताए ।
नेपाली कांग्रेस दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो, जसपा नेपा दलका नेता जयराम यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रदेश १ सरकारको ध्यानाकर्षण गरेका छन् ।

























