१६ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दाबी गर्नुभयो ।
‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रित गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं,’ उहाँले भन्नु भयो ।
मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताउनु भयो ।
आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो।
मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताउनु भयो । ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन,’ उहाँले भन्नु भयो ।
अर्थमन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताउनु भयो । ‘निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिनेछ । निर्वाचनका लागि यथेष्ट महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ,’ उहाँले भन्नु भयो ।
सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको अर्थमन्त्री पौडेलले बताउनु भयो।
खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको दावी गर्नुभयो ।
संबैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उहाँले चुनावपछि पनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताउनु भयो ।
उहाँले बजेटले वर्तमान चुनौतीलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरु पनि हासिल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

























