काठमाडौं,बैशाख २३ । काठमाडौँ रेजर्स एफसीका मेसौकेले ह्याट्रिक गरेको विराटनगरविरुद्दको खेलमा काठमाडौँले सनसनीपूर्ण जित निकालेको छ ।
नेपाल सुपर लिग(एनएसएल )अन्तर्गत बिहीबार साँझ भएको खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीचको खेलमा ९ गोल भएको छ। एनएसएलमा पहिलो पटक एकै खेलमा यति धेरै गोल भएको हो ।
दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा काठमाडौंले ५-४ गोलको जित हात पार्यो।
काठमाडौंका लागि मेसौकेले खेलको ३५,३७ र ६८ औं मिनेट ह्याट्रिक पूरा गरे भने स्टेफान बिनोङ र छिरिङ गुरुङले १-१ गोल थपे।
त्यसैगरी विराटनगरका तर्फबाट पेड्रो मान्जीले दुई गोल गर्दा एडेलाजा र रञ्जित धिमालले १-१ गोल गरे।
जितसँगै काठमाडौं प्लेअफमा पुग्न सफल भयो। अन्तिम खेलअघि दोस्रो स्थानमा उक्लिएको काठमाडौंले १० अंक जोडेको छ। शीर्ष स्थानको धनगढी एफसी पनि १० अंक जोडेर प्लेअफमा पुगिसकेको छ।यता विराटनगर सिटीको ७ अंक छ। विराटनगर सिटी तेस्रो स्थानमा झरेको छ।
आजको खेलमा उत्कृष्ट खेल खेले बापत काठमाडौँ एफसीका विश्वास श्रेष्ठले नगद १० हजार प्राप्त गर्दै “इमरजिङ प्लेयर अफ दि म्याच “घोषित भए । त्यसैगरी काठमाडौँकै मेसौके ओलोमु नगद २५ हजार प्राप्त गर्दै”सुपर प्लेयर अफ दि म्याच ” घोषित भए ।
भोलिको खेल पोखरा थन्डर र चितवन एफसीबीच अपरान्ह ५:३० बजे काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
























