लोक सेवा आयोगको नाममा नक्कली सूचना जारी, हजार बढीले दिए परीक्षा

A notice in Nepali from Mechinagar Ward No. 10

२१ साउन, खजुरा : बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भर्नुभयो ।

लिखित परीक्षा दिनका लागि उहाँ जेठ महिनाको अन्तिमतिर धनगढी पुग्नुभयो । धनगढी पुगेपछि तोकिएको परीक्षा केन्द्रमा पुग्दा सुरेन्द्र डाँगी नामका व्यक्तिसँग उहाँको भेट भयो र डाँगी मार्फत नै उहाँले जानकारी पाउनुभयो कि लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएकोले सरकारी एकीकृत डाटा सेन्टरमा सिर्जित समस्याका कारण डाटाहरू नष्ट भएकाले परीक्षा रद्द गरिएको र पुनः दरखास्त दिनुपर्ने भनेर ।

उहाँ घर फर्कनु भयो र सुरेन्द्र डाँगीकै सल्लाहअनुसार असार २० गते नेपालगन्ज बिपी चोकस्थित एक साइबर पसलबाट पुनः एक हजार रुपियाँ तिरेर सब इन्जिनियर पदका लागि अनलाइन फाराम भर्नुभयो । फाराम भरे पश्चात् डाँगीकै कुराअनुसार उहाँ साउन ७ गते कैलालीको अत्तरिया नगरपालिकाको गेटास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिनुभयो ।

साउन १८ गते उहाँको इमेलमा सुरेन्द्र डाँगीको नामबाट एउटा इमेल आयो । इमेलमा तपाईँ लिखित परीक्षामा पास हुनुभएको र मौखिक परीक्षाका लागि साउन २६ गते कैलाली आउन भनिएको थियो । उहाँका साथीभाइले सामाजिक सञ्जाल फेसबुकमार्फत शर्मालाई लिखित परीक्षामा सफल भएको र मौखिक परीक्षामा पनि थप सफलताको शुभकामना भन्दै उहाँको नामसहित उल्लेख गरिएको सुदूरपश्चिम लोकसेवा आयोगले प्रकाशित भएको सूचना पोस्ट गरे ।

सूचना तोडमोड गरी परीक्षार्थीलाई इमेल मार्फत पठाइएको नतिजा ।

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलालीको नाममा सूचना नं. १०४, मिति २०८०–४–७ गते प्रकाशित लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको विषयको उक्त सूचनामा मनिष शर्मासहित ५ जनाको नाम लिखित परीक्षामा सफल भएको र २६ गते कार्यालय समयमा आवश्यक कागजातसहित मौखिक परीक्षाका लागि उपस्थित हुन भनी उल्लेख गरिएको छ ।

जब उहाँले आफ्नी दिदीलाई उक्त कुरा जानकारी गराउनुभयो । दिदीले सुदूरपश्चिम लोकसेवा आयोगको वेबसाइट हेर्नुभयो । आयोगले त मिति २०८०–३–१२ गते सूचना नं. १०४-२०७९–८० को विज्ञापनमा सब इन्जिनियर पदका लागि साउन २७ गते मात्रै लिखित परीक्षामा सहभागी हुन आउन भनी जारी गरेको सूचना देख्नुभयो । तब शर्मा झसङ्ग हुनुभयो । र यो सबै नक्कली रहेछ भनेर बुझ्नुभयो ।

‘मैले सुरेन्द्र डाँगीको सल्लाहअनुसार सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको विज्ञापनअनुसार पुनः सब इन्जिनियर पदका लागि अनलाइन फाराम भरेँ, तत्पश्चात् साउन ७ गते कैलालीको अत्तरियास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिएँ, त्यहाँ झन्डै एक हजार बढीले परीक्षा दिएका थिए, उहाँकै इमेलबाट १८ गते मलाई इमेल प्राप्त भयो’ शर्माले भन्नुभयो, ‘जहाँ मेरो नामसहित अन्य व्यक्तिको नाम पनि लिखितमा पास भएको उल्लेख गरिएको थियो र २६ गते मौखिक अन्तरवार्ता लागि बोलाइएको थियो, हामीलाई त परीक्षा पनि नक्कली गर्न लगाइएको रहेछ, किन यसो गरियो थाहा छैन, कसैले पैसा पनि मागेका छैनन्, के उद्देश्यले यस्तो गरियो जानकारी भएन ।’

सुरेन्द्र डाँगी नामक व्यक्तिले किन यसो गरेका हुन् ? पीडित मनिष शर्मा अचम्म मान्नुहुन्छ । ‘पैसा पनि मागेका छैनन्, धेरै चिनजान पनि छैन, सम्पर्क पनि छैन, उहाँको फोन नम्बर पनि छैन, सबै सूचना उहाँले इमेलमार्फत दिनुहुन्थ्यो, किन यसो गर्नुभयो अचम्म लागेको छ’– उहाँ भन्नुहुन्छ ‘परीक्षा नै नक्कली हो भने त म जस्ता परीक्षा दिएका हजारौँ व्यक्तिको जीवनसाथी खेलबाड भयो ।’ पीडित शर्मालाई इमेल पठाएका डाँगीसँग शर्माले इमेलमार्फत सम्पर्क नम्बर माग्दा उनले उपलब्ध गराएनन् ।

उल्टै पीडित शर्माको फोन नम्बर र फेसबुक एकाउन्ट शनिवार बिहानदेखि ह्याक गरिएको छ । ‘मेरो मोबाइल फोनमा शनिवार बिहानबाट फोन आउँदा पनि आउँदैन, जाँदा पनि जाँदैन, घण्टी पनि बज्दैन, कसैले फोन ग¥यो भने म्यासेजमा मिसकल मात्र देखाउँछ ।’ ‘फेसबुक एकाउन्ट पनि बिहानैबाट चलेको छैन, नयाँ पासवर्ड हाल भन्छ तर पासवर्ड हाल्ने ठाउँ देखाउँदैन ।’ पीडित शर्माले भन्नुभयो ।

सुरेन्द्र डाँगी नामका व्यक्तिले प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशबाट मिति २०८०-०२-०५ गते सूचना नं. ३१४ को लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचनालाई एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ ।

उक्त सूचनामा ब.क्र.नं. ३, रोल नम्बर ४१० मा सफल उम्मेदवारमा अमृत चौधरीको नाम उल्लेख छ । डाँगीले अमृत चौधरीको नाम हटाएर एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ ।

यस बारेमा जानकारी लिनका लागि सुदूरपश्चिम लोक सेवा आयोग धनगढी कार्यालयको फोन नं. ०९१५२७६०० मा शुक्रवार दिउँसो पौने चार बजेबाट धेरै पटक सम्पर्क गर्दा पनि फोन उठेन । कार्यालयको अर्को नम्बर ०९१५२७६०४ मा फोन गर्दा फोन लागेन । वेबसाइटमा राखिए अनुसार सूचना अधिकारी शाखा अधिकृत सत्यराज जोशीको ९८५८४८३३५५ नम्बरको मोबाइल स्विच अफ गरेका थिए ।

गोरखापत्र अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.