८ कार्तिक, काठमाडौँ : नेपाल बार एसोसिएसन पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले ‘निकास’ दिनुपर्ने पक्षमा उभिएको छ । यद्यपि, ‘निकास’को बारेमा बारले प्रष्ट्याएको छैन ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले यसअघि प्रधानन्यायाधीश जबराले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेका थिए । सोमबार भएको छलफलपछि नेपाल बारले उक्त निष्कर्ष निकालेको हो ।
सोमबारको छलफलमा सहभागी कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराले अदालतको नेतृत्व सम्हाल्न नसक्ने कुरामा जोड दिएका थिए । प्रधानन्यायाधीशले सोमबार बोलाएको फुलकोर्ट बैठक नै बस्न नसकेको सन्दर्भमा बहिर्गमन नै उनका लागि उत्तम विकल्प हुने कुरामा सहभागीले जोड दिएका थिए ।
प्रधानन्यायाधीशले सहकर्मी न्यायाधीशहरूलाई नै विश्वासमा लिन नसकेको सन्दर्भमा नेतृत्वबाट बहिर्गमनको विकल्प नभएको कुरामा कानून व्यवसायीहरूले छलफलका क्रममा जोड दिएका थिए ।
सोमबार बोलाइएको फुलकोर्ट बैठक मात्र नभई तोकिएका दैनिक पेशी पनि इजलास नबसकेका कारण ‘इजलास बस्न नसकेको’मा परेका छन् ।
यस प्रकरणमा थप छलफलका लागि बारले आफ्ना सदस्य, उपत्यकामा रहेका पदाधिकारी, सल्लाहकार र पूर्वपदाधिकारीलाई मंगलबार बृहत् छलफलका लागि बोलाएको छ ।


























