२९ वैशाख, काठमाडौँ : नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। प्रहरीले उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरेको थियो।
सुर्खेतस्थित घर जाँदै गर्दा भालुबाङमा प्रहरीले पक्राउ गरेर करिब ६ घण्टा थुनामा राखेर सोधपुछ गरेर छाडेको छ।
उनी घर हुँदै शुक्रबार कोहलपुर पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो। चुनावको विषयलाई लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिनअघि नेकपा बहुमत पार्टी घोषणा गरेका थिए।
बास्तोलाले निर्वाचन बहिस्कार गर्ने रणनीति बनाएका कारण मध्यनजर गरी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बुधबार साँझ बुटवलमा प्रेसर कुकर बम विस्फोट भएपछि प्रहरीले थप सतर्कता अपनाएको थियो।
नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै बास्तोलालाई छाड्न दबाव दिएका थिए।
उनले भनेका छन्, ‘कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ।’
बुटवल घटनाको जिम्मा नेकपा माओवादीले लिइसकेको र त्यसमा आफ्नो सहभागिता नै नरहेको नेकपा बहुमतले दाबी गरेको छ । साथै चुनाव बहिष्कार र गर्ने आफूहरूको कुनै नीति नरहेको समेत स्पष्ट पारेको छ।





















