१४ असार, मेचीनगर : काँकरभिट्टा भन्सार नाका भएर २०७८÷०७९ को पछिल्लो ११ महिनाको अवधिमा ३ लाख ७२ हजार ५ सय ६४ रुपैयाँ बराबरकोे माछा नेपालमा आयात भएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार नेपालले चालु आर्थिक वर्ष २०७८÷०७९ को जेठ महिना सम्ममा विदेशबाट ३ लाख ७२ हजार ५ सय ६४ रुपैयाँ बराबरको ३ हजार ४ सय १९ केजी माछा आयात गरेको हो । काँकरभिट्टा नाका भएर विशेषतः भारतको विभिन्न शहरबाट माछा आयात हुने गरेको छ ।
झापालगायत नेपालका अन्य जिल्लामा मा व्यावसायिक रूपमै माछा उत्पादन सुरु भएपछि भारतसहित तेस्रो मुलुकबाट आयात हुने माछा र माछाका भुरामा कमी आएको कार्यालयको तथ्याङ्कले स्पष्ट पार्दछ । कार्यालयका सूचना प्रविधिका कम्प्यूटर अपरेटर अरुण शाहका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा काँकरभिट्टा नाका भएर ८५ लाख १७ हजार २ सय ८२ रुपैयाँ मूल्य बराबरको ३ लाख २३ हजार ९ सय ११ केजी माछा आयात भएको थियो । काँकरभिट्टा नाका हुँदै आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा खपत हुने गरेको छ ।
सरकारले व्यावसायिक माछापालनका लागि किसानलाई रकम अनुदान दिन थालेपछि झापालगायत अन्य जिल्लामा व्यावसायिक माछापालनतर्फ किसानको आर्कषण बढे लगत्तै विदेशी माछाको आयात गत आर्थिक वर्ष २०७७÷०७८ मा ओरालो लागेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यो आर्थिक वर्षमा काँकरभिट्टा नाका भएर ३२ लाख २ हजार २ सय ६५ रुपैयाँ मुल्य बराबरको ११ लाख ८ हजार २ सय ८० केजी माछा आयात भएको कम्प्यूटर अपरेटर शाहले जानकारी दिनुभयो । केही वर्ष अघिसम्म झापालगायत नेपालका थुप्रै बजारमा भारत सहित तेस्रो मुलुकबाट आयात गरिएका माछा बिक्री हुन्थयो । अहिले स्वदेशी माछाले नै नेपाली बजार र नेपालीको भान्सा ओगटेको माछा व्यवसायी रामदुलारी मल्लाहको भनाई छ । माछा आयात बन्द गर्न सरकारले कृषकलाई माछापालनमा अनुदान उपलब्ध गराउन थालेको छ ।
सरकारले व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई पोखरी खन्न अनुदान दिएका कारण व्यावसायिक माछा पालनमा किसानको आर्कषण बढेपछि तथा स्थानीय स्तरमा माछा उत्पादन भए पछि नेपालीहरुको भान्सामा समेत स्वदेशी माछा नै पुग्न थालेको सरकारी अधिकारीहरुको भनाई छ । ती अधिकारीहरुका अनुसार सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । भद्रपुर, गौरीगञ्ज सहित इलामको पशुपतिनगर सीमा नाकाबाट भित्रिने माछा आयातमा समेत कमी आएको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।
यो नाकाबाट माछा आयातमा पनि कमी देखिएको छ भने, माछाको भुरा आयात त शुन्य रहेको पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका मुकेशकुमार सिंहले बताउनुभयो । क्वारेन्टाइन ऐनअनुसार मात्र आयात गर्न अनुमति दिने प्रावधान बनेसँगै यसले पनि आयात घटेको हुन् सक्ने अधिकारीहरु बताउँछन् । माछा व्यवसायीले सम्बन्धित मुलुकबाट स्वस्थताको प्रमाणपत्रसहित माछा आयात गर्नुपर्ने कानुनी व्यवस्था रहेको सिहंको भनाई छ । स्वस्थताको प्रमाणपत्रसहित माछा आयात गर्न नसकेपछि व्यापारी स्वतः माछा व्यवसायबाट पलायन भएका छन् । नेपाली बजारमा स्थानीयस्तरमै उत्पादन भएका ताजा र स्वस्थ्य माछा उपलब्ध भएपछि उपभोक्ताहरुले समेत आयातित माछा उपभोग गर्न छाडेका छन् ।
आफ्नै शहर बजारमा ताजा माछा उपलब्ध भएपछि भारतीय माछा बिक्री नहुने व्यवसायीहरुको भनाई छ । स्थानीय बजारमा भारतीय माछाको माग घटेपछि व्यापारीले आयात घटाएको हुन सक्ने कार्यालयको आशंका छ । विदेशी माछाको आयात घट्नु मुख्यः कुरा चाँहि नेपालमा व्यावसायिक रूपमा माछापालन गर्ने क्रम सुरु हुनु नै रहेको सिहंको भनाई छ ।


























