वैदेशिक व्यापार घाटा बाह्र खर्ब नाघ्यो

A notice in Nepali from Mechinagar Ward No. 10

८ जेठ, काठमाडौँ : चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार घाटा १२ खर्ब नाघेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको (साउन–वैशाख) सम्मको तथ्याङ्क अनुसार १० महिनामा व्यापार घाटा १५.८५ प्रतिशतले घटेर १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख छ । अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख रुपियाँ रहेको थियो । गत वर्षको तुुलनामा १० महिनाको अवधिमा आयात घट्दा वैदेशिक व्यापार घाटामा समेत कमी आएको हो ।

मुलुकको आर्थिक क्षेत्रमा देखिएको सङ्कुचनसँगै सरकारले आयातमा प्रतिबन्धात्मक व्यवस्था लागु गर्दा चालु आवमा आयातको व्यापार र व्यापार घाटामा गत आवको तुलनामा कमी भएको तथ्याङ्कले देखाएको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा सङ्कुचन आएकाले बचत गर्न २०७९ मङ्सिरसम्म आयातमा प्रतिबन्ध लगाएको थियो । गत पुसदेखि आयातमा लगाएको प्रतिबन्ध खुला भएको हो । चालु आर्थिक वर्षको सुरुदेखि नै आयात निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।

आयात निर्यात दुवै घट्यो

विभागका अनुसार १० महिनामा आयात १६.७८ प्रतिशतले घटेर १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपियाँको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपियाँको आयात भएको थियो । यस्तै चालु आवको १० महिनामा निर्यात २४.४९ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड ३७ हजार रुपियाँको भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजार रुपियाँको निर्यात भएको थियो । १० महिनामा कुल वैदेशिक व्यापार १४ खर्ब ७७ अर्ब २२ करोड २४ लाख ९९ हजार रहेको छ ।

१० महिनाको अवधिमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट आठ खर्ब ४४ अर्ब ५३ करोड ४९ लाख ५९ हजार रुपियाँको वस्तु आयात भएकामा नेपालबाट ९१ अर्ब १४ करोड ७९ लाख ७४ हजार रुपियाँ निर्यात भएको छ । भारतबाट ठुलो परिणाममा आयात भए पनि नेपालबाट निर्यात न्यून हुँदा भारतसँग मात्र व्यापार घाटा सात खर्ब ५३ अर्ब ३८ करोड ६९ लाख रुपियाँ रहेको छ । नेपालको ९० प्रतिशत आयात निर्यात भारतसँग हुने गर्छ ।

यस्तै १० महिनामा चीनबाट एक खर्ब ७९ अर्ब २१ करोड ८६ लाख ३५ हजार रुपियाँको आयात भएकामा नेपालबाट एक अर्ब ३५ करोड २८ लाख ७० रुपियाँको निर्यात भएको छ । चीनमा आयात दुई खर्ब नजिक भए पनि निर्यात न्यून हुँदा चीनसँग एक खर्ब ७७ अर्ब ८६ करोड ५७ लाख ६५ हजार रुपियाँ व्यापार घाटा रहेको छ ।

१० महिनाको अवधिमा नेपालबाट हुने कुल निर्यातको दोब्बर परिमाणमा पेट्रोलियम पदार्थ मात्र आयात भएको पाइएको छ । दुई खर्ब ४९ अर्ब ६६ करोड ५३ लाख ५३ हजार रुपियाँको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) आयात भएको छ ।

सो अवधिमा आइरन एक खर्ब १४ अर्ब ८१ करोड २५ लाख ४४ हजार रुपियाँको आइरन, ४७ अर्ब २९ करोड ८७ लाख ६१ हजार रुपियाँको खाद्यान्न आयात भएको छ । १० महिनामा नेपालबाट सात अर्ब २८ करोड १६ लाख ७८ हजार रुपियाँको अलैँची निर्यात भएको छ । तीन अर्ब ३४ करोड ७४ लाख ३४ हजार रुपियाँको चिया निर्यात भएको छ ।

१० महिनामा विभिन्न मुलुकबाट वस्तु आयात गरेर तीन खर्ब ८४ अर्ब ४३ करोड रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

३१ मुलुकसँग व्यापार नाफा

नेपालले हाल १६७ वटा देशसँग वैदेशिक व्यापार गर्दै आएको छ । जसमा ३१ देशसँग व्यापार नाफा र १३६ मुलुकमा व्यापार घाटा रहेको छ । ३१ देशमा व्यापार नाफा भए पनि अधिकांश मुुलुकबाट आयात बढ्दै गएपछि निर्यात न्यून हुँदा व्यापार घाटा रहेको छ । विभागका अनुसार व्यापार नाफा रहेका देशमा अफगानिस्तान, अल्जेरिया, एङ्गोला, अर्मेनिया, अजरबैजान, बहराइन, बोलिभिया रहेका छन् । यस्तै कङ्गो, फिजी, इथोपिया, डेनमार्क, आइसल्यान्ड, किर्गिस्तान, माल्दिभ्स, माली, मोनाको, नर्वे, रुवान्डा, उरुग्गे, यमनलगायतका देशसँगको व्यापार नाफामा रहेको छ ।
गोरखापत्र अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.