कोरोनाको बहानामा चिनियाँ नाका फेरि बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

२९ साउन, काठमाडौँ: कोरोनाका कारण तीन वर्षयता निर्यात ठप्प र आयात प्रभावित भइरहेका उत्तरी रसुवागढी र तातोपानी नाका फेरि बन्द भएका छन् । तिब्बत क्षेत्रमा कोरोना संक्रमण फेरि बढेपछि चीनले आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेको थियो भने बुधबारदेखि तातोपानीबाट हुने आयात पनि रोकेको छ ।

रसुवागढी नाकाबाट शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ‘आइतबारदेखि नाकाबाट कन्टेनर आएका छैनन्, आयात ठप्प छ,’ उनले भने, ‘रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३० महिना भयो । मानिसको आवतजावत पनि बन्द छ ।’ चिनियाँ पक्षबाट आयात रोकेका विषयमा कुनै औपचारिक जानकारी भने नआएको मैनालीले जनाए । तिब्बततर्फ कोरोना संक्रमण देखिएको अपुष्ट जानकारी आएको उनको भनाइ छ ।

आयात रोकिनुअघिसम्म नाकाबाट प्रतिदिन बढीमा १४ चिनियाँ कन्टेनर सामान आयात भइरहेको थियो । नाका बन्द भएपछि व्यापारीका सामान तिब्बतमै रोकिएका छन् । नेपाल ल्याउन लोड भएका सामान केरुङमा रोकिएको व्यापारी धर्म पौडेलले बताए । ‘नेपाली ५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो,’ उनले भने, ‘ती कन्टेनरमा तीज र दसैंका सामान लोड थिए ।’ तिब्बतमा कोरोना बढेपछि त्यहाँका सरकारी कार्यालय र विद्यालय पनि बन्द भएको अनौपचारिक जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको भनाइ छ । तिब्बत सरकारले पहिलो चरणमा आठ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको उनले बताए ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट पनि बुधबारयता मालवाहक सवारीसाधन आउन ठप्प भएको हो । चीनको वुहानसहित विभिन्न प्रान्तमा कोरोना फैलिएको भन्दै चिनियाँ पक्षले नाका बन्द गरेको हो । चिनियाँ सुरक्षाकर्मी र अधिकारीबाट चीनमा कोरोना फैलिएको सन्देशसहित कन्टेनर आउजाउ नहुने जानकारी आएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय प्रमुख नारद गौतमले जनाए । ‘चीनको माथिल्लो तहबाट केही सन्देश आएको छैन, यति दिन बन्द गर्ने भन्नेबारे खास केही सेड्युल पनि छैन, सुरक्षाकर्मी, प्रशासन र महावाणिज्यदूतसहित अन्य निकायसँग यसबारे बुझ्दा चीनले कोरोनाकै कारण देखाएर बन्द गरेको सन्देश पाएका छौं,’ उनले भने । पछिल्लो समय तातोपानी नाकाबाट स्याउ र हाइड्रोपावरका उपकरणजस्ता सामग्री प्रतिदिन आठ कन्टेनर भित्रिरहेका थिए ।

कोरोना संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’ सहित सञ्चालित तातोपानी नाकाबाट यसअघि कोरोनाकालमै ७७ करोड राजस्व संकलन भएको थियो । चीन र नेपाल बोर्डर न्यु मोडालिटीअनुरूप तातोपानी नाकाबाट स्वास्थ्य प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइँदै आएको गौतमले बताए । ‘कोरोनाकै लागि यतिका प्रोटोकल र आइसोलेट क्षेत्र तोकेर दिनहुँ ८ वटा कन्टेनरबाट स्याउ र हाइड्रोपावरका उपकरणजस्ता सामग्री भित्रिरहेका थिए, अब फेरि त्यही मुद्दा बनाएर नाका बन्द भएको छ,’ उनले भने ।

बर्खायता दिनहुँ बाढीपहिरोले बन्द भइरहेको तातोपानी नाकाको भौतिक पूर्वाधार व्यवस्थित नबनाइँदा दिनहुँ बिग्रँदै गएको छ । अघिल्लो बर्खाभर चीनको खासा हुँदै लिपिङ बजार आइपुगेका कन्टेनर क्षतिग्रस्त लिपिङ पुल, सडकमा खसेका पहिरोको त्रासमा सडकमै रोकिने गरेका थिए । ‘यहाँको अधिकांश सडक खण्ड दिनभर बनायो, बेलुकीको वर्षात्ले भास्सिहाल्छ, लिपिङ पुल झनै जीर्ण बन्दै छ, उता नाका खुल्ने, बन्द गर्ने भइरहन्छ, नाकाको व्यथा सरकारले कहिल्यै देखेन,’ भोटेकोसी–२ का अध्यक्ष कुमार श्रेष्ठले भने । भूकम्पपछि तातोपानी नाका चिनियाँ इच्छामा धेरै पटक बन्द हुने र खुल्ने भएको स्थानीय व्यवसायी बताउँछन् । तातोपानी नाका भूकम्पपछि भौतिक संरचनासँगै व्यापारिक रूपमा अव्यवस्थित बन्यो । भूकम्पको चार वर्षपछि मालवाहक रूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिरोको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्चाइदियो, जसकारण यति बेला एक हजार चार सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार छन् ।
इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.