१३ साउन, मेचीनगर : नेपाल प्रवेशको पूर्वीनाका काँरकभिट्टाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा एकजना पर्यटक पनि नेपाल प्रवेश गरेका छैनन् । कोराना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या शून्य रहेको अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख जनक कोइरालाले बताउनुभयो ।
प्रमुख कोइरालाका अनुसार नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा पर्यटक आउने क्रम ठप्प छ । उहाँका अनुसार त्यसअवधिदेखि गत आर्थिक वर्षसम्मएकजना पर्यटक पनि नेपाल प्रवेश गरेका छैनन् । काँकरभिट्टा नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि भिसा जारी नभएको कार्यालयको भनाई छ ।
भारतीय नाकासम्म आएका पर्यटले नेपाल घुम्न आउनका लागि अध्यागमन कार्यालयमा सम्पर्क गरिरहेका भएपनि धेरै तेस्रो मुलुकबाट आउने पर्यटकले नेपाल घुम्नका लागि आएका छौँ, व्यवस्था मिलाइदिनु प¥यो भनेर भारतीय सीमा क्षेत्रमा आएर सम्पर्क गरिरहेको कार्यालय प्रमुख कोइरालाको भनाई छ ।
कार्यालयले भने कोभिड–१९ का कारण नाकाबाट अहिले तपाईंहरुलाई प्रवेश निषेध छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउनुहोस् भनेर अनुरोध गरिरहेको छ । कोडिभ–१९ को जोखिम नहुँदासमेत नेपालमा भिसा जारी गरेर तेस्रो देशबाट घुम्न आउने पर्यटकले १५० दिन बस्न पाउने व्यवस्था थियो तर लकडाउन शुरु भएसँगै नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरेर २१० दिनसम्म बस्न पाउने सरकारले व्यवस्था मिलाइदिएको छ ।


























