१ पौंष, विराटनगर : कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा सञ्चालन गरिएको स्काउट आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम मिति २०८२ साल मंसिर २५ गतेदेखि २०८२ साल पुस १ गतेसम्म विराटनगरमा सञ्चालन गरिएको थियो।
एक सातासम्म चलेको तालिममा कोशी प्रदेशका विभिन्न जिल्लास्थित ५० भन्दा बढी सामुदायिक माध्यमिक विद्यालयहरूबाट ७० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो। विद्यालयस्तरमा स्काउट गतिविधिलाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको यस तालिममा स्काउटिङका आधारभूत सिद्धान्त, नेतृत्व विकास, टोली व्यवस्थापन, सेवा भावना, अनुशासन, विपद् तयारी, समुदाय सेवा तथा व्यवहारिक प्रशिक्षणमा विशेष जोड दिइएको थियो।
तालिममा महिलातर्फ राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी (४५६ पी.टी.सी.) र पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद पौडेल (६१७ बी.टी.सी.) तथा नारायण श्रेष्ठ (६१८ बी.टी.सी.) कोर्स लिडरको रूपमा रहनुभएको थियो। प्रशिक्षकहरूले सहभागी शिक्षकहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासमार्फत स्काउटिङको मर्म बुझाउने प्रयास गर्नुभएको थियो।
तालिमको समापन समारोहमा कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षता रहेको थियो भने प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। समापन कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यालयस्तरमा स्काउट कार्यक्रम विस्तार गर्दा बालबालिकामा अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सेवा भावनाको विकास हुने उल्लेख गरे।
समापन समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, महाशाखा प्रमुख तथा उपसचिव दामोदर फुयाँल, उपसचिव दुर्गा प्रसाद सिग्देल, मन्त्रालयका प्रतिनिधिहरू, सहायक राष्ट्रिय प्रशिक्षकहरू, विभिन्न जिल्लाबाट आएका स्काउट लिडरहरू तथा प्रशिक्षार्थी शिक्षकहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी शिक्षकहरूले तालिमले आफूहरूलाई विद्यालयमा स्काउट गतिविधि सञ्चालन गर्न थप आत्मविश्वास र दक्षता प्रदान गरेको प्रतिक्रिया व्यक्त गरेका थिए। उनीहरूले प्राप्त ज्ञान र सीपलाई आफ्ना विद्यालय तथा समुदायमा प्रयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याएको भन्दै सामाजिक विकास मन्त्रालय, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय, कोर्स लिडरहरू, काउन्सिलरहरू, स्काउट लिडरहरू, सहभागी शिक्षकहरू, विद्यालयहरू तथा सर्भिस टिमप्रति आयोजक कोशी प्रदेश स्काउट कार्यालयले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।


























