११ वैशाख, काठमाडौँ : चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे सर्वदलीय बैठक बस्दै छ।
गएराति मतपेटिका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको थियो। आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। उनले जारी गरेको सूचनामा आज बिहान ८ बजे उम्मेदवार वा उम्मेदवारको दुई प्रतिनिधिलाई बैठकमा बोलाइएको छ।
नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरूले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन्। बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरू हुने जनाइएको छ। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताएका छन्।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो। यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए। जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्। (राससको सहयोगमा)
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्।
सेतोपाटीबाट


























