📌 मुख्य बुँदाहरू:
- हनुमानढोका दरबार क्षेत्रको कोतमा दसैं मनाइँदै गरेको झन्डै १७० वर्षअघिको ऐतिहासिक दृश्य सार्वजनिक भएको छ।
- उक्त दृश्यलाई बेलायती चिकित्सक हेनरी एम्ब्रोस ओल्डफिल्डले जलरङमा उतारेका थिए।
- यो चित्र हाल बेलायतको ब्रिटिस लाइब्रेरीमा 'द कोत एट काठमान्डू ड्युरिङ द दसैं' शीर्षकमा सुरक्षित राखिएको छ।
कलात्मक भवनहरूले घेरिएको फराकिलो चोक र वरिपरि झिँगटीका छाना भएको हनुमानढोका दरबार क्षेत्रको कोतमा आजभन्दा झन्डै १७० वर्षअघि दसैं कसरी मनाइन्थ्यो भन्ने ऐतिहासिक दृश्य बाहिर आएको छ। चोकको किनारमा मानिसहरू लहरै उभिएको र बीचको खुला ठाउँमा पशु तथा मानिसका आकृति देखिने यो ऐतिहासिक दृश्य बेलायतको ब्रिटिस लाइब्रेरीमा सुरक्षित छ।

यो दृश्यलाई जलरङमा उतार्ने कलाकार बेलायती चिकित्सक हेनरी एम्ब्रोस ओल्डफिल्ड हुन्। चित्रको पछाडिपट्टि अंग्रेजीमा 'The Kôt at Katmandoo during the Dussera' अर्थात दसैंका बेला काठमाडौंको कोत भनी लेखिएको छ। चित्रमा श्रीपेच लगाएका राजा सिंहासनमा बसेर अगाडिको दृश्य अवलोकन गरिरहेको समेत स्पष्ट रूपमा देख्न सकिन्छ।



















