५ चैत, मेचीनगर : लाेपाेन्मुख वन्यजन्तु रेडपाण्डाकाे संरक्षणमा सचेतना जगाउने, रेडपाण्डाकाे माध्यमबाट इलामकाे सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय गन्तव्य र पदमार्गकाे प्रवर्द्ध गर्ने लगायतका उद्धेश्यले इलाममा तेस्राे रेडपाण्डा महाेत्सव हुने भएकाे छ ।
बिहिवार झापाकाे मेचीनगर -०६ काँकडभिट्टास्थित पर्यटन कार्यालयमा आयाेजक सन्दकपुर गाउँपालिकाले एक कार्यक्रम गरि आगामी चैत २० देखि २३ गतेसम्म तेस्राे रेडपाण्डा महाेत्सव हुने जानकारी गराएकाे हाे ।
कार्यक्रममा महाेत्सव संयाेजक सन्दकपुर गाउँपालिका – ०४ का वडाध्यक्ष सनम राईले वडानम्बर -०४ काे कालपाेखरीमा महाेत्सव हुने जानकारी दिए । वातावातावरण र वनजंगलकाे संरक्षणका लागि सवैसँग हातेमालाे गर्न, वनजंगल र वन्यजन्तुकाे माध्यमबाट पर्यटन प्रवर्द्धन भई सन्दकपुरवासीकाे आय आर्जनमा वृद्धि गर्न महाेत्सव गर्न लागिएकाे संयाेजक राईले बताए ।
महाेत्सवकाे पहिलाे संस्करण २०८० चैत २० देखि बैशाख १ गतेसम्म र दाेस्राे संस्करण २०८१ चैत २७ देखि २३ गतेसम्म भएकाे कार्यक्रममा बताईयाे ।
यस्ता महाेत्सवले समुदायमा लाेपाेन्मुख वन्यजन्तु रेडपाण्डाका बारेमा सचेतना अभिवृद्धि हुने, रेडपाण्डासँगै वन , वन्यजन्तु र चराचुरुङ्गी, जडीबुटी अध्ययन गर्ने, पर्यटककाे सन्दकपुरमा आकर्षण र पर्यटन व्यवसायीकाे लगानीमा वृद्धि हुने, सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय स्थलहरूकाे प्रचार प्रसारमा सहयाेग पुग्नेलगायत यस महाेत्सवका उपलब्धि हुन् ।
महाेत्सवमा पर्यटनसँग जाेडिएका विविध विषयमा प्यानल डिसकस, विद्यार्थीबीच वकतृत्वकला, पदमार्ग, सम्मानलगायतका समेत कार्यक्रम सञ्चालन हुने
छन् । पर्यटन मञ्च झापाका अध्यक्ष उदयकुमार श्रेष्ठले यस्ता महाेत्सवले सन्दकपुर र स्थानीयस्तरमा प्रचार प्रसार अभावका कारण ओझेलमा परेका पर्यटकीय क्षेत्रकाे विकास र प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
याे महाेत्सवले रेडपाण्डा जस्ताे लाेपन्मुख वन्यजन्तुकाे संरक्षणका लागि समेत सकरात्मक सन्देश प्रवाह गर्ने ट्राभल व्यवसायी समेत रहेका श्रेष्ठले बताए । स्थानीय व्यवसायीहरूकाे व्यपारमा समेत वृद्धि हुने, आर्थिक काराेवार चलायमान हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडाध्यक्ष राई, मेची पहाडी पर्यटन प्रवर्द्धन विकास समितिका पुर्व अध्यक्ष केशवकुमार धाैराली,
सन्दकपुर गाउँपालिका पर्यटन समितिका सदस्य सुजन तिम्सिनालगायतले सहभागीहरूकाे जिज्ञाशाकाे जवाफ दिएका थिए ।


























