रूघाखोकी, घाँटी दुखेमा के गर्ने? के नखाने, कस्तो व्यायाम गर्ने? -रामदेवी महर्जन

A notice in Nepali from Mechinagar Ward No. 10

अहिले रूघासँगै खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने समस्या बढेको छ। सामान्यत रूघाखोकीलाई चिसोमा बढी लाग्ने समस्याका रूपमा लिइन्छ तर रूघाखोकी सबै मौसममा हुन्छ। के रूघाखोकी चिसो मौसममा लाग्नैपर्ने हो त? त्यसका लागि पहिला रूघा, खोकी र घाँटी दुखाई के हो भन्ने बुझौं।

रूघा
नाकबाट पातलो तथा बाक्लो सिँगान बग्नुलाई रूघा लाग्नु भनिन्छ। हाम्रो नाकमा प्राकृतिक रूपमै चिप्लो पदार्थ ‘म्युकस’ हुन्छ। हामीले स्वास लिँदा हावामा भएका फोहोर धुलो तथा किटाणुहरू म्युकसमा टाँसिन्छ र सफा हावा भित्र जान सहयोग पुग्छ। टाँसिएका धुलो तथा किटाणुहरू नाकबाट सिंगानमार्फत बाहिरिन्छ। तसर्थ हल्का सिँगान नाकमा उत्पादन भइरहन्छ।

जब हाम्रो अनुचित आहार, विहारका कारण शरीर विकारयुक्त हुन्छ तब रगतमा कफ बढ्छ, श्वासमार्ग नाकमा सिँगान बढी बन्छ। शरीरमा बढेको विकार कफ निस्कासन गर्न शरीरले आफ्नो धर्मअनुसार तिब्र रोग रूघा निकाल्छ। रूघाखोकी, झाडापखाला, ज्वरो, बान्ता, घाउखटिरा तिब्र रोग हुन्। यी तीव्र रोग बिग्रेरै अरू समस्या आउँछन्।

चिसोमा किन रूघा लाग्छ?
शरीरमा जमेको फोहर कि चिसोको सम्पर्कमा आएपछि बाहिर निस्कन खोज्छ या तातोको सम्पर्कले। जब श्वास प्रणालीमा जमेको कफ चिसो हावा, पानी, चिसा खानेकुराको सम्पर्कमा आउँछ तब त्यस स्थानको तापक्रम असन्तुलन भई जम्मा भएको कफ तरल रूपमा बग्न थाल्छ जसलाई हामी चिसोका कारण रूघा लागेको भन्छौं। तर शरीरमा विकार अर्थात रगतमा कफ बढी नभएको अवस्थामा चिसोसँग सम्पर्क हुँदैमा रूघा लाग्दैन।

तसर्थ रूघा चिसोका कारण हुने नभई रगतमा कफ बढी भएको अवस्थामा चिसोको सम्पर्कले हुने समस्या हो।

एलोपेथीमा रूघालाई सय भन्दा बढी भाइरसका कारण हुने समस्याका रुपमा लिइन्छ। राइनो भाइरस, इन्फ्ल्युइन्जा, कोरोना भाइरस आदिलाई रूघा लगाउने भाइरस मानिन्छ। तर भाइरस पनि विकारयुक्त शरीरमा मात्र प्रवेश गर्न सक्छ।

रूघा लाग्दा नाक साइनसको भाग निधार तथा नाक वरपर कफ बढेर चिसो बढ्छ, रगत जाम हुन्छ अनि नाकबाट सिँगान बग्ने, गन्ध चाल नपाउने, मुखको स्वाद विग्रने, टाउको दुख्ने, ज्वरो आउने हुन्छ।

रूघा श्वास मार्गको पहिलो समस्या हो। नाकदेखि फोक्सोसम्मको भाग श्वासमार्ग हो। रूघाको पहिलो लक्षण देखिने वित्तिकै खान नहुने खानाहरू नखाई उचित आहार गरेमा एक-दुई दिनमै सजिलै निको हुन्छ। तर रूघा लाग्दा अनुचित आहार र गलत उपचार भएमा एक दुई दिनमा निको हुने महिनौ लाग्छ। त्यही बिग्रेर श्वासमार्गका अन्य समस्या आउँछन्।

  • नाकको समस्या रूघा पहिलो अवस्था हो।
  • घाँटी दुख्नु टन्सिलाइटिस दोस्रो अवस्था हो। यो रूघा विग्रेर वा रूघा नलागिकनै पनि हुन सक्छ। हाम्रो घाँटी र जिब्रोको दुबैतिर बदाम आकारको अंग हुन्छ त्यसैलाई टन्सिल भनिन्छ। त्यही ग्रन्थीको सुजन (सुन्निनु) नै टन्सिल बढ्नु हो।
  • घाँटीबाट तल गएमा ल्यारेन्जाटिस, फ्यारेन्जाइटिस र त्ससबाट पनि मुनि गएमा ब्रोन्काइटिस सुख्खा वा खकारसहितको खोकी लाग्नु तेस्रो अवस्था हो। ठूलो श्वास नली ट्राकिया र ब्रोङ्कस सुन्निनु ब्रोन्काइटिस हो। यो रूघा लागेर वा रूघा नलागिकनै पनि लाग्ने हुन्छ।

यी तीनै अवस्थामा अनुचित आहार, विहार र गलत उपचार भएमा छाती तथा फोक्सोमा संक्रमण भई श्वास फेर्न गाह्रो हुने अवस्था निमोनिया हो। फोक्सोमा रहेका हावा थैलीहरू (एल्भियोली)को सुजन हुनु, त्यहाँ तरल पदार्थ पानी या पिप जम्ने अवस्था नै निमोनिया हो। यो अवस्थामा चर्को ज्वरो हुन्छ, छातीको एकापट्टि कोखा अथवा ढाडपाता घोचे जस्तो गरि दुख्छ,।

रूघाखोकीको उचित उपचार भएमा पहिलो चरण नाकबाटै निको हुन्छ, नाकबाट मुनि अरु समस्याहरू पिनास, घाँटी दुख्ने टन्सिलाइटिस, खोकी लाग्ने ब्रोन्काइटिस र निमोनिया आदि हुँदैन।

रूघा–खोकीको सरल उपचार
उपवास बस्ने

•    रूघासँगै ज्वरो भएमा उपवासमा बस्ने।
•    कुनै पनि ठोस आहार नलिनुलाई उपवास भनिन्छ। रूघा लागेको लक्षण देखिने वित्तिकै ठोस आहार बन्द गरि मनतातो पानी प्रति घण्टा पिएर उपवास बस्ने। यसरी बसेमा रूघा १ देखि ३ दिनमै निको हुन्छ।

रसाहार गर्ने 

  • उपवास गर्न नसक्नेले रसाहारमा बस्ने। तातो पानीमा मह र कागती मिलाएर दिनको तीनचार पटक आवश्यकता अनुसार पिउने। घाँटी दुखेको छ भने कागती नलिने।
  • फलरसमा सुन्तला, जुनार, मौसमका रस दिनको ३ देखि ४ पटक लिन सकिन्छ।
  • घाँटी दुखेको तथा खोकी लागेको अवस्थामा फलरस लिँदा तातो पानी मिसाएर मात्र लिने।
  • साना बालबालिकालाई रूघा लाग्दा पनि दूधको मात्रा कम गरेर सुन्तलाको जुसमा कागती १–२ थोपा राखेर पिलाएमा कम हुन्छ।

फलाहार

  • उपवास र रसाहार बस्न नसकेमा फलाहार गर्न सकिन्छ।
  • रूघा मात्र छ भने रसिला फलहरू सुन्तला, जुनार र मौसमले धेरै फाइदा गर्छ। फल लिँदा दिनको तीनदेखि चार पटक लिन सकिन्छ।
  • रसहार या फलहारमा रहँदा पनि पानी भने नियमित पिइरहनु पर्छ।
  • घाँटी र खोकीको समस्यामा फलफूललाई उसिनेर मात्र लिने वा नखाने।

ताजा तरकारीको सुपाहार

  • रूघाखोकी, घाँटी दुख्दा ताजा तरकारीको सुप सबैभन्दा उपयुक्त हुुन्छ। तरकारीमा उतम तरकारीहरू प्रयोग गर्ने।
  • सागमा रायो साग, चम्सुर, मेथी, सुप र फर्सीको मुन्टा उत्तम हुन् भने पात नभएका हरिया तरकारीमा परवल, हरियो सिमी, हरियो बोडी, हरियो प्याज, हरियो लसुन, बरेला, घिरौंला, पाटे घिरौला, ब्रोकाउली, गाजर आदि उत्तम हुन्।
  • यी उत्तम तरकारी दुईतीन थरी र गाजर एउटा काटेर सादा पानीमा राख्ने, कुकरमा एक सिठी लगाउने। लेदोका लागि पिठो जसमा कोदोको पिठो उत्तम हुन्छ १–२ चम्चा राख्ने, धेरै नराख्ने। मसलामा लसुन, अदुवा, जिरा र हल्का नुन राख्न सकिन्छ। साथै जुवानो थोरै प्रयोग गर्ने। यसरी चिल्लोरहित सुप दिनको तीन–चार पटक लिन सकिन्छ। यसले शरीरमा तातो कायम गर्छ।

जाउलो 

  • उपवास, रसाहार गर्न नसकेमा जाउलो खान सकिन्छ।
  • जाउलो बनाउँदा तीन भाग हरियो उत्तम तरकारी र एक भाग चामल राखेर खिचडी बनाउने, दिनको ३ पटक खान सकिन्छ।
  • त्यसैगरि जाउलोमा छोगडा, किसमिस पनि प्रयोग गर्न सकिन्छ।

यसरी मिलाएर खाँदा रूघा, खोकी सजिलै निको हुन्छ, विग्रन पाउँदैन।

नाक खोल्ने प्राकृतिक विधिहरूः
१. शरीरको तापक्रम कायम गर्ने– हाम्रो शरीरको तापक्रम ९८.६ डिग्री फरेन्हाइट हुन्छ। रूघा लाग्दा शरीर भित्र (विशेष निधार, नाक, छाती) चिसो बढी हुन्छ। त्यसैले शरीरको तापक्रम कायम गर्ने जसमा

  • पहिलो, शरीरलाई बाहिरी रुपमा तातो गराउने। त्यसका लागि छाती, घाँटी र निधार छोपिने गरी न्यानो टोपी लगाउने। हत्केला देखि खुट्टाको पैतालासम्म तातो बनाउने न्यानो लुगा लगाउने।
  • दोस्रो, खानामा तापक्रम कम हुन नदिने ऋतुअनुसारका पित्तबद्र्धक (गर्मी गराउने) न्याना आहार गर्ने।

२. रेकी हत्केला सेकी–रूघाको लक्षण देखिने वित्तिकै निधार र छातीमा हत्केलाले सेक्ने। एक पटकमा ३० मिनेट दिनको ३–४ पटक जति सकिन्छ त्यति सेक्ने। यसरी सेक्दा नाक पनि खुल्छ, सिँगान बग्न पनि बन्द हुन्छ। खोकी लाग्दा छातीमा र घाँटी दुख्दा घाँटीमा सेक्ने। यसले रामवाणको काम गर्छ ।

३. तातोपानीको बाफ– तातो पानीको बाफले नाक खुल्ने र श्वास फेर्न सजिलो हुन्छ। जुवानु, जिरा, धनियाँ, ल्वाङ, सन्चो आदि राखेर बाफ लिन सकिन्छ। घाँटी दुखेको अवस्थामा नुनपानीले दिनको तीनचार पटक कुल्ला गर्ने।

४. छातीमा रबर व्यागले सेक्ने– सेक्दा हट व्यागलाई तताएर कपडाले बेरेर मन्द आँचमा सेक्ने। राति सुत्ने बेलामा पनि छातीमा सेक्दै सुत्दा आराम मिल्छ।

के खाने? के गर्ने?
रूघा भाइरसबाट बच्ने एउटै उपाय हो रगतमा कफ बढ्न नदिनू। यस्तो अवस्थामा शरीरमा कफ कम गर्ने र हल्का पित्त(गर्मी) बढाउने सरल आहार लिने जसमाः

  • कोदो–अन्नमा सबै भन्दा उत्तम कोदो हो। कोदोको ढिंडो, कोदोको रोटी, कदोको सुप लिने।
  • सुख्खा फल– छोगडा, किसमिस र खुर्पानीलाई हल्का तातो बनाएर वा उसिनेर वा पोलेर ७–८ वटा लिन सकिन्छ। यसलाई खाना, खाजा दुबैको रुपमा लिन सकिन्छ। यी खानेकुराले शरीरमा गर्मी बढाउनुका साथै शक्ति पनि दिन्छ, कब्जियत खुल्छ, रूघाखोकी छिट्टै निको हुन्छ।
  • हरियो तरकारी र सलादफल–प्रशस्त हरिया तरकारी र सलाद फलफुल लिने। रूघाखोकी वा श्वासप्रश्वासका समस्या र चिसो लागेको अवस्थमा काँचो खानेकुराहरु सलादफलफुल नलिने वा उसिनेर मात्र लिने। चिसो मौसममा भने रूघाखोकी तथा चिसोको प्रकोप नहोस् भन्नका लागि फलसदाल लिदा तातो बनाएर खानु उत्तम हुन्छ।
  • त्यसैगरी ज्वानु पानी, तुलसी, लेमनग्राँस, ल्वाङ, अदुवा आदिको चिया जिरापानी पिउने।
  • पानी–दिनमा प्रशस्त (३–४ लिटर) मनतातो पानी पिउने। बिहान दिशा खलाँश गर्न करिब १ लिटर घटघट पिउने, दिनमा प्रतिघण्टा १ गिलाँशका दरले र राती सुत्नु अगाडि एक गिलाँस पिउँने। खोकी लागेको छ भने तातो पानी चिया जस्तो नै पिउने।
  • व्यायाम–रूघाखोकीसँगै ज्वरो छ भने कुनै पनि धपेडी या व्यायाम नगर्ने, खाना मिलाएर शरीरलाई तातो बनाएर आराममै रहने। हल्का प्राणायामहरू भने गर्न सकिन्छ। लक्षण कम भए पछि योग व्यायामहरू वा अन्य व्यायाम गर्न सकिन्छ।
  • बिहान स्वच्छ हावाको सेवन गर्ने। पर्याप्त रुपमा निदाउने ५–७ घण्टा आवश्यकताअनुसार।
  • दैनिक १ घण्टा घाममा बस्ने।
  • डिप्रेसिभ भावबाट मुक्त हुने। मनलाई हमेशा ठेगानमा राख्ने।  चिन्ता, रिस, तनाव जस्ता अनुचित विचारबाट मुक्त रहने।

के नखाने? के नगर्ने?

  • कार्बोहाइड्रेट बढी भएका खाद्यहरूले कफ बढाउँछ जसमा हामीले दैनिक प्रयोग गर्ने सबै एक दलिए अन्नका प्रकारहरू भात, रोटी, ढिँडो, च्याख्ला, मकै, गहुँ आदि हुन्। तसर्थ भातको मात्रा मात्र बढी खाए पनि कफ बढ्ने हुन्छ। कफ बढ्दा यी आहारको मात्रा कम खाने वा बन्द गर्ने।
  • पाचन हुन गाह्रो हुने र भारी खानाहरु माछामासु मांसाहार नगर्ने।
  • दूध र अन्डाले कफ बढाउँछ। तसर्थ दूध र दूधबाट बनेका कुनै पनि परिकार, अन्डा, चिनी र चिनीबाट बनेका मिठाइ नखाने।
  • रूघामा विशेष काँचो, चिसो चिल्लो, ¥याल्लप्याल्ल परेका खाद्यान्न, घ्यू, तेल, तारे भुटेका, मैदाका परिकार बन्द गर्ने।
  • फ्रिजमा राखेका खाना, बरफ, चकलेट आइसक्रिम, बट्टाबन्दी पेय पदार्थ, जंकफुड नखाने।
  • घाँटी दुखेको अवस्थामा सबै अमिला खाद्यपदार्थ र अमिलो पुराना अचार नखाने।
  • तरकारीमा ठण्डी गुणका तरकारीहरू तोरीको साग, बन्दा, सेतो काउली, च्याउ, रामतोरिया, काँक्रो, मुला, स्कुस आदि रूघा लागुन्जेल नखाने।
  • ड्राई नट्सहरू काजु, पिस्ता, बदाम, ओखर, नरिवल आदि नखाने।
  • धुलो, धुवाँमा गुम्सिएको कोठामा नबस्ने।
  • तातोबाट हवात्तै चिसोमा नजाने।
  • नुहाउँदा धेरै लामो समय लगाएर ननुहाउने करिब ५–७ मिनेटमा नुहाइसक्ने। नुहाउने वित्तिकै नखाने र खाने वित्तिकै नुहाउनु हुँदैन। करिब १ घण्टाको फरक गर्ने। चिसो मौसममा मनतातो पानीले नुहाउने।
  • कम खाने, दिनमा ३ पटकभन्दा बढी नखाने। एक खाना र अर्को खानाको अन्तर कम्तीमा चार–पाँच घण्टा पार्ने।

ध्यान दिऔंः माथि भनिएका पित्त (गर्मी) बढाउँने आहारहरु प्रयोग गर्दा शरीरको अवस्था हरेर ठिक्क (टाउको नदुख्ने, छाती, घाँटी नपोल्ने) गरी सेवन गर्ने। चिसो लाग्यो भनेर धेरै गर्मी गराउने खानपान भएमा शरीरमा गर्मी बढी पित्त समस्या हुन्छ।

तसर्थ शरीरमा चिसो बढे हल्का न्यानो गराउने आहार गर्ने र गर्मी अर्थात पित्त बढेको भए हल्का सितल गराउने खानपान गर्नुपर्छ, अरु गर्नुपर्ने काम शरीर आफैंले गर्छ।

यसरी गर्नुपर्ने गरेमा र नगर्नुपर्ने नगरेमा शरीरको प्रतिरोध क्षमता कायम रहन्छ, रूघा लगायत कुनै पनि भाइरसबाट सजिलै बच्न सकिन्छ।

प्रतिरोध क्षमताः

हाम्रो शरीरमा प्राकृतिक रुपमै रोगसँग लड्न सक्ने क्षमता हुन्छ जसलाई प्रतिरोध क्षमता (इम्यूनिटी पावर, भाइटल पावर) भनिन्छ। जब हामीले गरेको अनुचित आहार, विहार विचारले शरीरमा फोहर जम्मा हुन्छ तब त्यस क्षमतामा कमी गराई शरीर कमजोर हन्छ, भाइरसले स्थान पाउँछ र रोग लाग्छ।

सबैले बुझ्नु पर्ने एउटै कुरा–

सबै भाइरस अर्थात सबै रोगसँग बच्ने एउटै उपाय हो आफू भित्रको प्रतिरोध क्षमता कायम गर्नु। त्यो शक्तिलाई कुनै पनि हालतमा कम गराउने काम नगर्नु हो।

त्यसका लागि कुनै ठूलो काम वा महँगा खाना खानु पर्दैन। हामीले दैनिक खाने खानपान, दैनिक गर्ने गतिविधि र हामीले गर्ने विचारमा मात्र ध्यान दिए पुग्छ। यी तीन चिज उचित भएमा प्रतिरोध क्षमता कायम रहन्छ।

तसर्थ सबैले आफू भित्रको प्रतिरोध क्षमतालाई कायम गर्न गर्नुपर्ने सरल ३ काम भनेको

  • दैनिक उचित आहार गर्ने ।
  • दैनिक उचित गतिविधि (विहार) गर्ने ।
  • दैनिक उचित विचार गर्ने ।

उचित आहार के हो ?
शरीरको धर्म, नियमअनुसार खानपान गर्ने। त्यसका लागि छोक्राबोक्रा रेशासहितका प्राकृतिक सरल खानपान गर्ने। प्रकृति प्रेमी समूहले स्वस्थ रहन सबैले गर्न सकिने सरल तीन बराबर आहार शुत्र ल्याएको छ। जसमा

  • ३३ प्रतिशत दैनिक प्रयोग गर्ने एक दलिए आहार (भात, रोटी, ढिँडो, च्याँख्ला) आदिबाट १ भाग ।
  • ३३ प्रतिशत हरिया सागसव्जीबाट १ भाग ।
  • ३३ प्रतिशत काँचो सलाद फलवर्गबाट १ भाग ।

यसरी ३ थरी बरोबर मात्रामा खाएमा शरीरलाई चाहिने रेशा छोक्राबोक्रा मिल्छ, पाचन राम्रो भई शरीर सफा हुन्छ। बढी भएको तौल ठिक हुन्छ र प्रतिरोध क्षमता कायम रहन्छ।

अत्यधिक तौल बढी भएकाले भने दैनिक लिइरहेको खानाको भागबाट २५ प्रतिशत अन्न घटाइ तरकारी र सलादको मात्रा बढाउने, हप्ताको सजिलै एक-दुई किलो तौल घट्न सहयोग पुग्छ।

उचित गतिविधि के हो?

  • दैनिक पसिना निस्कने गरि एक देखि डेढ घण्टा व्यायाम गर्ने। शारिरीक क्रियाकलापमा सक्रिय रहने।
  • हिँड्दा, बस्दा, सुत्दा, काम गर्दा सदा मेरुदण्ड सोझो, खुकुलो राख्ने। शरीरलाई झुकाएर नबस्ने।
  • पर्याप्त निदाउने, ५–७ घण्टा। ठिक समयमा सुत्ने, विहान सबेरै घाम उदाउनु अगाडि उठ्ने।
  • दिउँसो नसुत्ने।
  • दैनिक १ घण्टा घाममा बस्ने। स्वच्छ हावामा हिँड्ने। कोठा हावादार हुनुपर्छ।
  • काम र आरामको सन्तुलन मिलाउने। २४ घण्टामा ८ घण्टा जीवन निवार्हका लागि, ८ घण्टा आरामका लागि र ८ घण्टा परकल्याणका लागि छुट्याउनें।

उचित विचार के हो ?

  • कुनै पनि हालतमा नडराउने, नआत्तिने।
  • सधै आफ्नो लागि उचित हुने आहार, विहार तथा विचार गर्ने।
  • आफू र अरुलाई हानी हुने कुनै पनि काम र विचार नगर्ने।
  • आफूले कमाएको केही अंश समाज कल्याणका लागि लागि छुट्याउने।

यसरी यी स्वास्थ्यका सरल प्राकृतिक नियम दैनिक पालना गरेमा शरीरको क्षमता कायम रहन्छ। तसथ उचित आहार, विहार र विचार प्रतिरोध क्षमता कायम गर्ने आधार हो।

बुझ्नु पर्ने कुरा, उचित आहार, विहार र विचार जीवन भरिका लागि, प्रकृतिको सरल नियम सधैभरिका लागि।  आफ्नो स्वास्थ्य आफ्नै हातमा। देशको भाग्य सबैको हातमा। 

ध्यान दिनुपर्ने कुरा

  • हाछ्यूँ गर्दा वा खोकी लाग्दा रुमालले नाक र मुख छोप्ने।
  • अरूलाई नसरोस् भनेर रूघा लाग्दा बाहिर निस्कँदा सधैं मास्क लगाउने।
  • कुनै पनि अवस्थामा नआत्तिने, नडराउने। एक आपसमा सहयोग गर्ने।
  • जस्तोसुकै अवस्थमा सबैले गर्नुपर्ने एउटै काम भनेको उचित आहार, विहार र विचार गर्ने र अरुलाई पनि गर्न प्रेरित गर्ने। आफू पनि स्वस्थ रहने र अरुलाई पनि स्वस्थ रहन प्रेरित गर्ने।

(हाइकिङविज्ञ महर्जन प्रकृतिप्रेमी समूह, निरोगधामकी योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक हुन्।)

साभार : सेतोपत्रबाट
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.