नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको बलियो आकांक्षासहित सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतसहित सभापतिमा निर्वाचित भएका छन्। २९ असोज, काठमाडौंमा सम्पन्न निर्वाचनको परिणामाअनुसार सभापति पदमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे।
सभापति पदका लागि तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयमा थापाको आग्रहमा किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका थिए। १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता राठौरले नाम फिर्ता लिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा भएको थियो। थापाले अर्का उम्मेदवार खड्गीलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरे पनि उनी लोकतान्त्रिक चुनावी प्रक्रियामा सहभागी भएका थिए। थापाको यो विजयसँगै कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको बहसले नयाँ दिशा लिएको छ र पार्टीमा युवा नेतृत्वको उदय भएको छ।
पदाधिकारी चयन र नयाँ समीकरण
१५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति थापासँगै विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध चयन भएका छन्। पार्टीभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको एजेन्डा बोक्दै आएका दुवै नेता शीर्ष पदमा पुग्नुलाई उनीहरूबीचको राजनीतिक सहकार्यको निरन्तरताका रूपमा लिइएको छ।
त्यसैगरी, वरिष्ठ उपसभापति शर्मासँगै पुष्पा भुसाल उपसभापति (महिला) पदमा निर्विरोध चयन भएकी छिन्। खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य उपसभापतिमा निर्वाचित भएका छन्। जसमा भण्डारीले ३ हजार ७३५ र आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन्। यसैगरी समावेशी उपसभापतिमा विनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्।
आगामी दिनका चुनौती र परीक्षा
नयाँ नेतृत्वको यो संरचनाले पार्टीभित्र अनुभव र नयाँ पुस्ताका नेताहरूलाई समेट्ने प्रयास गरेको देखिएको छ। तर, जम्बो केन्द्रीय समिति व्यवस्थापनदेखि लिएर पुरानो कार्यशैली बदल्ने र आम जनताको गुमेको विश्वास फर्काउनेसम्मका गम्भीर चुनौतीले गगन थापाको यो नयाँ टिमको कडा परीक्षा लिनेछन्।
नयाँ अनुहारको प्रवेश मात्रैले पार्टीको कार्यशैली नबदलिने विश्लेषकहरूको भनाइ छ। पदाधिकारीहरूको यो सूचीमा देखिएको सहकार्यले मात्र नपुग्ने, आन्तरिक शक्ति सन्तुलन मिलाउँदै संगठनलाई प्रभावकारी बनाउने, नीतिगत स्पष्टता कायम गर्ने र जनताको विश्वास जितेर अगाडि बढ्ने काममा नेतृत्व कत्तिको सफल हुन्छ भन्ने विषयले नै आगामी दिनको राजनीतिक भविष्य निर्धारण गर्नेछ।

























