राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पालिका चुनावलाई लक्षित गर्दै ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ सार्वजनिक गरेको छ । उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित पार्टीले यो नयाँ आन्तरिक कार्यविधि ल्याएको हो ।
सार्वजनिक गरिएको नयाँ रूपरेखाअनुसार उम्मेदवार छनोटका लागि चारवटा मुख्य आधार तय गरिएका छन् । जसमा पार्टी सदस्यहरूको मतदानमा आधारित प्रारम्भिक मतदानलाई सबैभन्दा बढी ४० प्रतिशत भार दिइएको छ । त्यस्तै, लिडरसिप एकेडेमीको प्रशिक्षण र राजनीतिक निकटता तथा पृष्ठभूमिलाई समान २५–२५ प्रतिशत तथा समावेशितालाई १० प्रतिशत भाराङ्क निर्धारण गरिएको पार्टीले जनाएको छ ।
विशेषाधिकार र असाधारण परिस्थितिको व्यवस्था
पार्टीले उम्मेदवार छनोटमा निश्चित सीमासम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरेको छ । सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षका साथै महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार छनोटमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्नेछ ।
निर्धारित विधिबाहिर गएर उम्मेदवार छनोट गर्नुपर्ने असाधारण परिस्थिति उत्पन्न भएमा भने पार्टी केन्द्रीय समितिमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट त्यसलाई अनिवार्य रूपमा अनुमोदन गराउनुपर्ने व्यवस्था गरिएको छ । नयाँ मापदण्डअनुसार उम्मेदवार छनोट प्रक्रियामा ‘क्यान्डिडेट क्लब’, लिडरसिप एकेडेमी र प्रारम्भिक चुनावको अर्को प्रारूपसमेत अनिवार्य रहनेछ ।





















