काठमाडौं : राहदानी विभागले राहदानी वितरण सेवा केही समयका लागि प्रभावित हुनसक्ने जनाएको छ।
विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी गरिरहेको जनाएको छ। हाल प्रयोगमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा परिवर्तन (स्विच) गर्ने क्रममा सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने भन्दै विभागले सेवाग्राहीलाई सचेत गराएको हो।
विभागका अनुसार आगामी एकदेखि दुई महिनाभित्र पुरानो प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ। यस प्रक्रियाका क्रममा प्रणाली स्थिरीकरण हुन नसक्ने अवस्था आउन सक्ने भएकाले केही समय सेवा प्रभावित हुन सक्ने जनाइएको छ।
सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा करिब एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ। यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने सेवा भने करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने बताइएको छ।
नयाँ प्रणाली कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने विभागले जनाएको छ। यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन अहिलेको भन्दा बढी समय लाग्न सक्ने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ।
विभागले अन्तरिम अवस्थालाई ध्यानमा राख्दै आगामी छ महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट सेवा लिन आग्रह गरेको छ।
राहदानी विभागले नयाँ प्रणाली सुरु हुने मिति र त्यस अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी आगामी सूचनामार्फत सार्वजनिक गरिने पनि जनाएको छ।


























