१६ माघ, झापा : कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा झापाको कमल गाउँपालिकामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक व्यवस्थापन तथा स्थानीय स्काउट कार्यालय, कमल गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रदेशभरबाट आएका स्काउट बालबालिकाले प्रदेश स्काउट संरक्षक एवं कोशी प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने दुर्लभ अवसर प्राप्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीले बालबालिकाका जिज्ञासा, सुझाव र अपेक्षालाई गम्भीरतापूर्वक सुन्नुहुँदै बालअधिकार, गुणस्तरीय शिक्षा, सुरक्षा र नेतृत्व विकास प्रदेश सरकारका प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। उहाँले बालबालिकालाई राष्ट्रको भविष्यका कर्णधारको रूपमा चित्रण गर्दै, उनीहरूको आवाज नीतिनिर्माणमा प्रतिबिम्बित गरिनुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री कार्कीले बालमैत्री प्रदेश निर्माणका लागि सरकार निरन्तर रूपमा सक्रिय र प्रतिबद्ध रहने विश्वास दिलाउनुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतोले स्काउट आन्दोलनले बालबालिकाको अनुशासन, नेतृत्व, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले यस्ता संवादात्मक कार्यक्रमले बालबालिकालाई आफ्ना विचार व्यक्त गर्ने आत्मविश्वास दिलाउने र लोकतान्त्रिक अभ्यासमा सहभागी गराउने बताउनुभयो।
कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गाप्रसाद सिग्देललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संवाद कार्यक्रममा सहभागी बालबालिकाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद विकास तथा बालमैत्री नीति सम्बन्धी विषयमा आफ्ना धारणा, समस्या र सुझावहरू खुला रूपमा प्रस्तुत गरेका थिए। बालबालिकाका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले उनीहरूको चासो र सुझावलाई प्रदेश सरकारका नीतिगत योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले स्वागत मन्तव्य राख्दै स्काउट आन्दोलनमार्फत बालबालिकालाई नेतृत्व, नागरिक चेतना र सामाजिक सहभागितामा सक्षम बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ४ सयभन्दा बढी स्काउट बालबालिकाको सक्रिय सहभागिता रहेको थियो। बालबालिकाको उत्साहपूर्ण सहभागिता र खुला संवादका कारण कार्यक्रम प्रभावकारी र अर्थपूर्ण बनेको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन नेपाल स्काउट कोशी प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो।


























