देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन सुरु, बिहान ७ बजेदेखि मतदान

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ। देशका ७७ वटै जिल्लामा एकै चरणमा मतदान प्रक्रिया सुरु भएको हो।

यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थान गरी कुल २७५ सदस्यका लागि मतदान भइरहेको छ।

यसपटकको निर्वाचनलाई देशको संवैधानिक तथा राजनीतिक प्रक्रियालाई पुनः व्यवस्थित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै नयाँ जनादेश प्राप्त गर्ने उद्देश्यले निर्वाचन आयोजना गरिएको हो। साथै पछिल्लो समय उठेको जेन–जी आन्दोलनका मागहरूलाई राजनीतिक प्रक्रियामार्फत सम्बोधन गर्ने अपेक्षासहित यो निर्वाचनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासोका साथ हेरिएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरिरहेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। यसका साथै १ लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् भने १४३ अस्थायी मतदानस्थल पनि निर्धारण गरिएको छ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, गर्भवती महिला लगायतलाई सहज रूपमा मतदान गर्न प्राथमिकता दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आयोगका अनुसार ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी तथा १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन सञ्चालनका लागि करिब २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दुर्गम १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकोप्टरमार्फत संकलन गरी गणनास्थलसम्म ल्याइने व्यवस्था गरिएको छ।

यसपटकको प्रतिनिधि सभा निर्वाचनमा करिब ९ लाख नयाँ मतदाता थपिएका छन्। आयोगले प्रकाशित गरेको अन्तिम मतदाता सूचीअनुसार १३ निर्वाचन क्षेत्रमा ९ लाखभन्दा बढी नयाँ मतदाता समावेश भएका छन्।

यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले मतदातालाई विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गरेका छन्। उनले मुलुकलाई भ्रष्टाचारभन्दा पनि अराजकता ठूलो खतरा भएको उल्लेख गर्दै लहडका भरमा मतदान नगर्न आग्रह गरे।

उनले भने, “मुलुकलाई जति भ्रष्टाचारबाट खतरा छ, त्योभन्दा धेरै खतरा अराजकताबाट हुन्छ। लहडका भरमा होइन, राजनीतिक संस्कार भएका उम्मेदवारलाई मत दिनुपर्छ। राजनीतिक संस्कार नभएका व्यक्ति संसद् वा सरकारमा पुगे मुलुकका लागि झनै हानिकारक हुन सक्छ।”

त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने जो–कोहीलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। मतपत्र च्यात्ने, खोस्ने वा मतपेटिका लुट्ने जस्ता गतिविधिमा संलग्न हुनेहरूमाथि कडा बल प्रयोग गरिने उनले बताएका छन्।

उनका अनुसार निर्वाचन आचारसंहिताविपरीत गतिविधि गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.