ओली सरकारमा समावेश हुने तयारीमा जसपाका महन्थ-राजेन्द्र पक्ष

A notice in Nepali from Mechinagar Ward No. 10

१०, जेठ, काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ।

उक्त पार्टीका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहनु भएको छ ।

आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष ठाकुर पक्षभित्र छ। अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाउँनु भएकोले सरकारमा जानुपर्ने निश्कर्षमा अध्यक्ष ठाकुर र नेता महतो हुनुहुन्छ।

प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आग्रह गरिरहनु भए पनि वातावरण बल्ल बनेको जसपाका एक कार्यकारिणी समिति सदस्यले बताउनु भयो।

‘हामीले राखेका माग ओली सरकारबाट पूरा भइरहेका छन्। अब हाम्रो छलफल सरकारमा सहभागिता जनाउने विषयमा नै केन्द्रीत हुन्छ,’ अध्यक्ष ठाकुरनिकट जसपाका ती नेताले भन्नु भयो, ‘प्रधानमन्त्रीले पनि खालि रहेका ७ मन्त्रालयमा मन्त्री पठाउन भन्नु भएको छ। यसबारे अझै गम्भीर रूपमा छलफल गर्छौं।’

ओलीले अहिले रहेका मन्त्री नहटाइकन यसअघिदेखि नै रिक्त मन्त्रालय जसपालाई दिने गरी सरकारमा आउन भन्नु भएको छ । नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ। ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राख्नु भएको छ।

माओवादी छाडेका एमाले आएकाहरू गैरसांसद रहेकोले मन्त्रीबाट हट्नुपरेको थियो। साथै मन्त्रालयहरू हेरफेरसमेत गर्न सकिने ओलीले बताइरहनु भएको छ।

संविधानअनुसार २५ जना मन्त्री बनाउन मिल्छ। स्रोतकाअनुसार ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ। तर अब सात जना मात्रै मन्त्री थप गर्न मिल्छ। आकांक्षी धेरै भएकोले व्यवस्थापन गर्न ८ जना मन्त्री दिनुपर्ने ठाकुरले ओलीसँग माग गर्नु भएको स्रोतको दावी छ।

जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष भने सरकारमा जाने पक्षमा छैन। उहाँहरूले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहनु भएको छ। ओली सरकारको विकल्प खोज्नुपर्नेमा भट्टराई र यादवको एकमत छ।

साथै उहाँहरूले हालै केन्द्रीय कार्यकारिणी समिति बैठक गरेर सरकारमा गए कारवाही गर्ने चेतावनी दिनु भएको छ।

तर ओली सरकारमा जानेबारे पार्टीभित्र विवाद नरहेको महन्थ ठाकुरनिकट नेता सुरेन्द्र झाले दावी गर्नु भएको छ। आफूहरूको मुख्य सवाल सरकारभन्दा पनि मागहरू रहेको र त्यो ओली सरकारले पूरा गरिरहेको उहाँले बताउनु भयो । आफूहरूका माग ओलीले सकरात्मक ढंगले अगाडि बढाएकोले सहकार्य हुन सक्ने उहाँले बताउनु भयो।

‘सरकारले हाम्रा मुख्य माग सम्बोधन गरेको छ। प्रधानमन्त्रीले पनि सकरात्मक ढंगले माग पूरा गर्छु भनिरहनुभएको छ। त्यसैले हाम्रो पनि उहाँसँग सहकार्य हुने सम्भावना बढेको छ,’ उहाँले बताउँनु भयो।

आफूहरूका माग मध्ये रेशम चौधरीको रिहाइ हुन बाँकी रहेको हाँले बताउँनु भयो। ‘उहाँको रिहाइ हुन बाँकी छ। विपक्षी गठबन्धन कसरी अगाडि बढ्छन् र पार्टीभित्र कस्तो समिकरण अघि बढ्छ यी सबै विषयले सरकारमा जानका लागि केही समय लाग्न पनि सक्छ,’ उहाँले भन्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.