कोशी प्रदेशमा एकसय ७७ जनाको हत्या : १६ वर्षमूनिदेखि उमेर नखुलेकासम्म हत्यामा संलग्न

A notice in Nepali from Mechinagar Ward No. 10

२ असार, मेचीनगरः कोशी प्रदेशमा १७ जना बालबालिकाको हत्या भएको छ । आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो दश महिनाको अवधिमा कोशी प्रदेशमा कुल १ सय ७७ जनाको हत्या भएको थियो । त्यसमा १० बालक र ७ बालिका गरी कुल १७ जना बालबालिकाको हत्या भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखले देखाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ८२ जनाको हत्या भएको थियो । ती मध्ये ७ बालक र ४ बालिकागरी ११ जना थिए । ३९ पुरुष, ३३ महिला, सात बालक चार बालिकाको त्यो वर्ष हत्या भएको थियो । कार्यालयको अभिलेख हेर्ने हो भने हरेक वर्ष कर्तव्य ज्यानका अपराध बढिरहेका छन् ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ को बैशाख महिनासम्म कर्तव्य ज्यानका घटना १३ जनाले बढेको छ । यसकारण पनि यो आर्थिक वर्षमा यस्ता प्रकृतिका घटना बढ्न सक्ने प्रहरीको अनुमान छ । चालु आर्थिक वर्षको पहिलो दश महिनामा कोशी प्रदेशका अलग अलग जिल्लामा ४९ जना पुरुष, ४० जना महिला, बालक र बालिका तीन ÷ तीन गरी कुल ९५ जनाको हत्या भएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

उमेर समूहका आधारमा हत्या गरिएकाहरु १६ वर्षमूनिदेखि ६० वर्ष उमेरमाथिका सम्म छन् । आर्थिक वर्ष २०७९/०८० मा १६ वर्ष मूनिका ११ जनाको हत्या भएको अभिलेख छ । यसैगरी, १६ देखि २५ वर्ष उमेर समूहका ११ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ३३ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका १४ जना, ४६ देखि ६० वर्ष उमेर समूहका १३ जना र ६० वर्ष माथिका एकजनाको एकवर्षमा हत्या भएको प्रहरीको अभिलेखले देखाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा १६ वर्ष मूनिका छ जना, १६ देखि २५ वर्ष उमेर समूहका १७ जना, २६ देखि ३५ वर्ष उमेर समूहका २८ जना,३६ देखि ४५ वर्ष उमेर समूहका २४ जना, ४६ देखि ६० वर्ष उमेर समूहका १३ जना ६० वर्ष माथि उमेर समूहका सात जना गरी कुल ९५ जनाको हत्या भएको छ ।

ती घटनामा संलग्न १ सय २७ पुरुष र २३ महिला गरी कुल १ सय ५० जना लाई आर्थिक वर्ष २०७९/०८० मा प्रहरीले पक्राउ गरेको सुचना अधिकारी प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । यसैगरी, चालु आर्थिक वर्ष २०८०/०८१ मा भएका कर्तव्य ज्यानका घटनामा १ सय ४३ जना पक्राउ परीसकेका छन । पक्राउ पर्नेमा १ सय ३३ पुरुष र १० महिला रहेका छन । अभियुक्तको उमेर समूहको आधारमा १६ वर्षमूनि देखि उमेर नखुलेका सम्म छन् । चालु आर्थिक वर्षको दशमहिनाको अवधिमा प्रदेश भरी भएका घटनामा संलग्न १६ वर्षमूनिका दुईजना पक्राउ परेका छन भने उमेर नखुलेका एकजनालाई प्रहरीले पक्राउ गरीसकेको छ । १६ देखि २५ वर्ष उमेर समूहका ४१ जना, २६ देखि ३५ वर्ष उमेर सूहका ६१ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका २७ जना, ४६ देखि ६० वर्ष उमेर समूहका सातजना र ६० वर्ष माथि उमेरसमूहका चारजनालाई प्रहरीले पक्राउ गरेको कार्यालयको अभिलेखले देखाएको छ ।

अधिकाँश हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका छन् । ढोका लगाउने चुक्कुल, बास, फलामको बाम्फोक खुकुरी, फलामको हम्बर प्रयोग हुने गरेको झापामा भएका हत्याका घटनाले पुष्टि गर्दछ । परिवार र आफन्त भित्रै हुने हत्याका अधिकांश घटना आवेगप्रेरित देखिन्छ । घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शंका, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड÷रक्सी र लागूऔषधका कारण पनि यस्ता घटना हुने गरेको एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ । पहिले संगठित हत्या हुने गर्थे भने अहिले परिवार र आफन्त भित्रै हत्या हुने गरेका घटनाहरु पनि छन । अहिले परिवार र आफन्तभित्रै हत्या हुन थालेपछिे प्रारम्भिक अनुसन्धानको सुई नै परिवारभित्रै केन्द्रित गर्ने प्रचलन जस्तै भइसकेको ती अधिकृतको भोगााई छ ।

मदिरा सेवनपछिको विवाद, रिसिईवी, आर्थिक लेनदेनका कारण हत्याका घटनाहरु भएको देखिएको प्रहरी अनुसन्धानले बताएको छ । पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, त्यो घरबाहिर होस् या घरभित्र । तथापि परिवार र आफन्तबीच हुने हत्याका श्रृखला त्यसमा मात्रै सीमित छैन । समाजिक बनावट, घरभित्रको वातावरण, अविश्वास, विवाहेत्तर सम्बन्ध, यौन, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि एकले अर्काको हत्या गर्ने गरेको अनुसन्धानका क्रममा खुल्न गरेको प्रहरीको भनाई छ ।

रिसलाई नियन्त्रण गर्न, परिवार र समाजलाई व्यवस्थापन गर्न सकियो भने पनि यस्ता घटना कम गर्न सकिने प्रहरीको बुझाई छ । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित देखिँदैन । लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्याधिक रहन्छ । त्यसैले स–साना विषयमा हुने झै झगडा वा सानो विषयको विवाद पनि हत्यासम्म पुगेको थुप्रै उदाहरण रहेको बताइएको छ ।

अहिले परिवार र आफन्तमा भएका अधिकांश हत्याको प्रवृत्ति हेर्ने हो भने रिस, आवेग, तनाव र मानसिक समस्याको कारणले भएको देखिन्छ । अहिले व्यक्तिले अर्काको भावना नबुझ्ने, सहयोग नगर्ने प्रवृत्ति देखिएको छ । यो पनि मानसिक समस्याको उपज हो । जसका कारण स–साना कुरामा पनि आक्रोशित हुँदा व्यक्तिले अपराधको सहारा लिने गरेको पछिल्ला उदाहरणबाट बुझ्न सकिन्छ ।

आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने, गाह्रो हुने स्वभाव बढ्छ । यो परिस्थितिमा आफ्नैले आफ्नैलाई हत्या, अरूको हत्या गर्ने जस्ता घटनाको क्रम बढ्दै जाने समाजशास्त्री गोविन्दविक्रम चालिसेको भनाई छ । परिवार आफन्तभित्रै हुने हत्याको पछाडिको कारण सामाजिक विचलन भएको बुझाई उहाँको छ ।

व्यक्तिगत र सामाजिक कारणले हुने अधिकांश हत्या अवसर, अभाव र बदलासँग जोडिएका हुन्छन् । जुन परिवारमा विखण्डन छ, आर्थिक समस्या छ, त्यसैमा यस्तो घटना धेरै हुने गर्छ । श्रीमान र श्रीमतीबीच उब्जिएको शंका, उपशंका, अविश्वास, धर्म, संस्कार, चरित्र, बदला र चित्त नबुझे पनि सम्बन्धमा रहनुपर्ने दवाबले गर्दा पनि एक बिन्दुमा पुगेपछि एक अर्काको हत्यासम्म गराउने गरेको थुप्रै उदाहरण छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.