१० जेठ, मेचीनगर : मुलुककै निक्कै समस्याको रुपमा रहेको लागूऔषधको कारोवार र सेवनलाई न्यूनिकरण गर्ने उद्धेश्यले शनिबार झापाको मेचीनगरमा लागूपदार्थ दुर्व्यसनी विरुद्ध सचेतनामुलक बृहद र्यालीसहित कोणसभा सम्पन्न भएको छ ।
नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय कोशी प्रदेश विराटनगरले आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगरको आर्थिक व्यवस्थापन र स्थानीय स्काउट कार्यालय मेचीनगर नगरपालिका झापाको व्यवस्थापनमा लागूपदार्थ दुर्व्यसनी मुक्त वडा अभियानको लक्ष्यसहित र्यालीसहित जनचेतनामुलक मेचीनगर नगरपालिकाको मुख्यः व्यपारिक केन्द्रविन्दु मेचीनगर —६ काँकरभिट्टामा कोणसभा आयोजना गरेको थियो ।
स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरबाट विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानरसहित संयौको संख्यामा निस्केको र्याली काँकरभिट्टा बजारको मुख्यः भागको परिक्रमा गरी सोहि स्थानमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभाका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले लागूऔषधको बढ्दो प्रयोगले समाज नै असुरक्षित हुँदै गएकोमा चिन्ता व्यक्त गरिन् । झापामामात्र नभएर अहिले मुलुकमा नै लागूऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको भन्दैं नेपाल स्काउट मेचीनगरको प्रमुख समेत रहेकी उपप्रमुख उप्रेतीले लागूऔषधको प्रयोगले समाजमा अपराध बढ्दै जाने स्पष्ट पारिन् । ब्राउन सुगरलगायतका लागूपदार्थ प्रयोग गर्ने सानो उमेरका किशोरकिशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको छ । बढ्दो लागूऔषधको प्रयोगले चोरी, लुटपात, कुटपिट, हत्या, बलात्कार जस्ता समाजमा आपराधिक घटना बढ्दै गएको स्थानीय प्रशासनको अभिलेखमा प्रष्ट छ । आफ्नो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरू जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
‘युवाहरू लागुऔषधको प्रयोग गर्ने र अपराधमा संलग्न हुने क्रम चिन्ताजनक ढंगले बढ्दै गएको छ ।’ उपप्रमुख उप्रेतीले भनिन् । लागूऔषध प्रयोग गर्ने युवाहरूकै कारण हत्या, लुटपाट, चोरी जस्ता अपराधका घटना बढ्दै गएको स्थानीय प्रशासनको भनाई छ । समाजमा डरलाग्दो गरि लागुऔषधको समस्या देखिएको छ । युवाहरू यसरी लागुऔषधको दुव्र्यसनमा लाग्नु समाज र हाम्रा सन्तानकै लागि ठूलो चिन्ताको विषय बनेको शिक्षासेवी, काँकरभिट्टा माविका पूर्व शिक्षक तथा कोणसभाका विशिष्ट अतिथि नेपाल स्काउट कोशी प्रदेश परिषद् सदस्य मीनाकुमारी कटुवालले बताइन् । उनले भनिन्, ‘देश विकासको आधार मानिने युवा शक्ति लागूऔषधले बर्बाद भइरहेको छ ।’
कार्यक्रमका अधिकाँश वक्ताहरुले लागूऔषधको दुर्व्यसनी धेरैको अकालमै ज्यान गइसकेको । कयौंको जीवन बर्बाद भएको । लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए । समाजमा हुने आपराधिक घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिने बताईएको छ ।

१५ देखि २५ वर्षका युवाहरु लागूऔषधको कुलतमा फसेका छन् शहरदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ताहरु रहेका छन् । भारतका सिमावर्ती सहरबाट ब्राउन सुगरलगायतका लागूपदार्थ बोकेर ल्याउने र प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन । ‘प्रहरीले लागूपदार्थ प्रयोग गर्ने, बोक्नेलाई पक्राउ गरे पनि मुख्य कारोबार गर्नेलाई पक्राउ नगरेसम्म चिन्ताजनक रूपले बढीरहेको लागुऔषधको नियन्त्रण हुन नसक्ने स्थानीयको भनाई छ । लागूऔषधका सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्धासमेत चलाउँदै आएको एकजना प्रहरी अधिकृतको भनाई छ । लागूऔषध फेला परेका कसैलाई पनि प्रहरीले समातेर कारबाही गर्ने गरेको बताउँदै कारोबार गर्ने मुख्य व्यक्ति आफू लागुऔषध नबोक्ने र पक्राउ परेका व्यक्तिले समेत उनीहरूको बारेमा जानकारी नदिने गरेकाले समस्या भएको बताए ।
प्रहरीले लागूऔषध प्रयोकर्ताहरु र कारोबारीहरुमाथि निगरानी राख्ने कार्य हुँदै आए भएपनि प्रहरी एक्लैको प्रयासले लागूऔषधको जालो भत्काउन गाह्रो हुने प्रहरीको भनाई छ । लागूऔषध नियन्त्रणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका थिए ।
कोणसभालाई नवयात्रा पुन स्थापना केन्द्रका अध्यक्ष भिमबहादुर लुइटेल, लागुपदार्थ दुर्व्यसनी मुक्त समाजको परिकल्पना गर्दै लामो समय काम गर्ने सामाजिक अभियान्ता संदिप थापालगायतले सम्बोधन गरेका थिए ।
स्थानीय शैक्षिक पद्धति आयुक्त सुष्मा सुब्बा, स्थानीय सदस्यता वृद्धि आयुक्त सुवास खत्री , स्थानीय सामुदायिक विकास आयुक्त अर्जुन भण्डारी स्थानीय समिति सदस्य लुइसा लिम्बू र मन्जु तुम्बापो तथा स्थानीय परिषद सदस्यहरु दिपक बागदास, टिकेन्द्र ढकाल सहभागी कार्यक्रमको सभापति नेपाल स्काउट मेचीनगरका प्रमुख आयुक्त रीता थापा र कार्यक्रम सञ्चालन स्थानीय परिषद सदस्य दुर्गाबहादुर लुइटेलले गरेका थिए ।





















