१३ मंसिर, चितवन : नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । यद्यपि उनको सर्वसम्मत हुन सकेन र निर्वाचनबाट छिनोफानो हुनेभएको छ ।
राति अबेर सुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । लगतै अध्यक्ष मण्डलमा छलफल गरेका उनले उनले भीम रावललाई मनाउने प्रयास गरेका थिए । आफूले एकताका निम्ति धेरै प्रयास गरेको भन्दै उनले रावललाई भने, सिंगै हलले भनेको भन्दा बाहिर नजान कमरेड भीम रावललाई आग्रह गर्दछु ।’
लगतै अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरे । आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम लिए ।
उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्बाङ छन् । सुरुमा उनले वरिष्ठ उपाध्यक्षमा दावी गर्दै आएका नेम्बाङको नाम छुटाएका थिए । अध्यक्ष मण्डलका अरु सदस्यले सम्झाएपछि झण्डै छुटेछ भन्दै नेम्बाङलाई पनि उपाध्यक्षमा राखे ।
यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सारेका उनले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।
सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम लिए । आफूले अघि सारेका नाममा सहमति जनाउन र त्यसलाई उम्मेदवारी दर्ता गर्न आग्रह गरेका छन् । लगतै उनले बन्दसत्रको यो सेसन अन्त्य भएको घोषणा गरेका छन् ।
























