काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज बिहिबार भएको खेलमा आर्मीले जारी लिगमा सातौं जित निकालेको छ ।
विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले मोरङको विराटनगर महानगरपालिकालाई फराकिलो अन्तरले पराजित गरेको छ। आर्मीले विराटनगरलाई ७–० गोलले हराएको हो।
आर्मीकी विमला विक र शर्मिला थापाले समान २–२ गोल गर्दा सपना लामा, रश्मी घिसिङ र विमला चौधरीले समान १–१ गोल गरे।
खेलको १८ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन्। २२ औं मिनेटमा सपनाले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाइन्। त्यसपछि खेलको ३१ औं मिनेटमा विमला विकले, ३५ औं मिनेटमा विमला चौधरीले र ३९ औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई पहिलो हाफसम्म ५–० को अग्रता दिलाए। पहिलो हाफमा नै फराकिलो अन्तरले पछि परेको विराटनगरले दोस्रो हाफमा थप दुई गोल खायो।
खेलको ५० औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दा शर्मिला थापाले पनि अर्को गोल थप्दै आर्मीलाई ७–० गोलको जित दिलाइन्।
लिगको दोस्रो स्थानमा रहेको आर्मीले यो जितसँगै ९ खेलमध्ये सात खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै २२ अंक बनाएको छ। पाँचौं स्थानमा रहेको विराटनगरको भने ९ खेलमध्ये तीन खेलमा जित, पाँच खेलमा हार र एक खेलमा बराबरी खेल्दै १० अंक छ। लिगको शीर्ष स्थानमा भने एपिएफ छ।



























