१३ साउन, मेचीनगर : २९ जुलाईको दिन विश्वभर बाघ संरक्षणप्रति जनचेतना फैलाउन ‘विश्व बाघ दिवस’ मनाइन्छ। सन् २०१० मा रूसको सेन्टपिटर्सवर्गमा पहिलो बाघ सम्मेलनपछि यस दिवसको थालनी भएको हो।
नेपालमा सन् २०२२ मा भएको बाघ गणनाअनुसार हाल बाघको संख्या ३५५ पुगेको छ, जुन सन् २००९ को तुलनामा झण्डै तेब्बर हो। बाघको संख्या वृद्धि हुनु उत्साहजनक भए पनि व्यवस्थापन चुनौती थपिएको छ। मानव–बाघ द्वन्द्व, चोरीसिकारी, बासस्थानको सङ्कट, र पूर्वाधार विकासले समस्या बढाइरहेका छन्।
विशेषज्ञहरुका अनुसार नेपालमा बाघको ‘धान्ने क्षमता’ (carrying capacity) करिब ४ सय छ। संरक्षण क्षेत्रमा गुणस्तरीय बासस्थान, पर्याप्त आहारा र पानीका स्रोत वृद्धि गर्नुपर्ने सुझाव दिइएको छ।
देशभर १८ समस्याग्रस्त बाघलाई उद्धार गरी विभिन्न खोरमा राखिएको छ। यस्ता बाघको व्यवस्थापन खर्चिलो भएकाले दीर्घकालीन समाधानका लागि ‘टाइगर जु’ वा अन्तरराष्ट्रिय कूटनीतिक विकल्पबारे बहस भइरहेको छ।
सरकार, संरक्षण निकाय र सरोकारवालाबीच सहकार्य गर्दै बाघ संरक्षणलाई मानव–बाघ सहअस्तित्वमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ।
























