‘दलित अधिकारका सवाल हिजोसम्म सडकमा उठाउँथे, अब संसदमा उठाउँछु’ विश्वकर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
१० चैत, मेचीनगर :  दलित, महिला र उत्पीडित समुदायका आवाजलाई साहित्य, संगीत र संगठनमार्फत वर्षौंदेखि उठाउँदै आएकी मनु [मनमाया] ले अब संसद्मा समेत यी कुर उठाउने भएकी छन् ।
साहित्यका शब्दहरूबाट राजनीतिक आन्दोलन, मानवअधिकार तथा दलित जागरण अभियानको अगुवाई गर्दै आएकी ४४ वर्षीया मनमाया विश्वकर्मालाई नेपाली काँग्रेसबाट दलित कलष्टरमा समानुपातिक सांसद बनेपछि सडकमा अधिकारका सवाल उठाउने उनी अब संघीय संसद यात्रा सुनिश्चित गर्दै सदनमा पुगेकी छन् । उनको नाम मनमाया विश्वकर्मा भए पनि उनको साहित्यिक नाम मनु विश्वकर्मा हो । समानुपातिकतर्फ नेपाली काँग्रेसको भागमा परेको २० सीटमध्ये मनमाया अहिले प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेस झापा निर्वाचन क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ माननीय बनेकी हुन् ।
पूर्वी पहाडी जिल्ला भोजपुरको श्यामसिलामा २०३८ भदौ ८ गते आमा कमला र बाबु अर्जुनबहादुर विश्वकर्माकी छोरीका रूपमा विपन्न दलित परिवारमा जन्मिएकी मनुले समाजले तोकेका सीमाभित्र आफूलाई कहिल्यै कैद नगरेको बताईन् ।
सामान्य परिवारमा जन्मिएर ग्रामीण परिवेशबाट हुर्किएकी मनुका लागि यो संसद्को यात्रा कल्पना देखि बाहिरको कुरा थियो । सामाजिक विभेद चिर्दै संसदको यात्रा तय गरीरहँदा आज उनलाई नसोचेकै फल मिलेको झै बनेको छ । आज उनै मनु विभिन्न संघर्ष गर्दै नेपाली काँग्रेसको दलित क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बन्न सफल भएर नीति निर्माण गर्ने तहसम्म र राष्ट्रिय राजनीतिसम्म आइपुगेकी छन् । अब उनी संसदमा नीति निर्माणको भूमिका निर्वाह गर्नेछन् । संसदको यात्रा आरम्भ भएपछि उनी राज्यका नीति निर्माणको भूमिका निर्वाह गर्न पाउने ठाउँमा पुगेकोमा आफूलाई भाग्यमानी ठान्छिन् । संसदमा एक जना सांसदको भूमिका निक्कै प्रभावकारी हुने भन्दै मनुले भनिन् ‘म पनि प्रभावकारी ढंगले निर्वाह गर्ने छु ।

दलित अधिकारका सवाल हिजोसम्म सडकमा उठाउँथे, अब संसदमा उठाउँछु ।’
प्रारम्भमा सीमित शिक्षा, आर्थिक अभाव र सामाजिक विभेदका बीच उनले महिला, दलित र अन्य पीडामा रहेका समुदायको उत्थानका लागि निरन्तर सामाजिक तथा राजनीतिक सक्रियता देखाउँदै आएकी थिईन् । ‘संसदमा दलित, महिला, आदिवासी जनजाति, युवा र पछाडि परेका वर्गको अधिकार र आवाज उठाउने छु,’ मनुले भनिन्, दलित अधिकार, मानवअधिकार र सामाजिक अभियानमा लामो समयदेखि सक्रिय थिए, अब संसदमा नीति निर्माणमा भूमिका निर्वाह गर्नेछु ।’ विगतमा सडकमा उठाउँदै आएका अधिकारका सवाल अब संसदमा उठाउने अवसर आफूलाई मिलेको उनको भनाई छ । कोकिल र मीठो स्वरकी धनी मनु भोजपुर क्याम्पसमा विद्यार्थी जीवनमा गीत संगीतमा डुब्दाडुब्र्दै नेपाली काँग्रेसको राजनीतिमा संलग्न भएको बताउँछिन् । २०५८ सालमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था साँस्कृतिक संघको सदस्य भएकी मनुको त्यसपछिदेखि पार्टीभित्र उठबस ठूलो भयो ।
दुईदशक बढी समयदेखि दलित, उत्पीडित र महिलाका अधिकारका लागि निरन्तर काम गर्दै नेपाली काँग्रेसको सक्रिय राजनीतिमा आएकी उनी २०७६ सालमा नेपाली काँग्रेसको भगिनी संस्था नेपाल महिला संघको क्षेत्रीय सदस्य बनिन् । त्यसपछि २०७८ मा क्षेत्रीय सभापति बन्ने अवसर मिल्यो । उनी नेपाली काँग्रेस क्षेत्र नम्बर २ की क्षेत्रीय सदस्य, र क्षेत्र नम्बर २ महिला संघकी सभापतिको भूमिकामा छिन् ।
धनकुटा बहुमुखी क्याम्पसबाट स्नातकोत्तरसम्मको औपचारिक शिक्षा पूरा गरेकी विश्वकर्माको साहित्यसँगै पूर्वी पहाडको सामाजिक अभियानमा पनि नाम अग्रस्थानमै रह्यो । विशेषगरी जातीय विभेद, दलित समुदायको हकअधिकार र मानवअधिकारका क्षेत्रमा उनी क्रियाशील रहेको बताउँछिन् । महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट एलएलबीसमेत अध्ययन गरेकी उनी जातीय विभेदविरुद्ध आवाज उठाउने, दलित समूदायलाई संगठित गर्ने, नीति निर्माण तहसम्म उनीहरुका सवालहरु पु¥याउने भूमिका निर्वाह गरेको बताउँछिन् । विश्कर्मा भन्छिन् ‘दलित आन्दोलनलाई केवल सडक आन्दोलनमा मात्र सीमित नराखी संस्थागत गर्न भूमिका निर्वाह गर्दै आएकी छु ।’ जातीय विभेद तथा दलित समुदायको हक अधिकारका सवालमा विभिन्न माध्यमबाट सक्रिय भएको उनसँग लामै सूची छ । संसद्मा पुगेपछि आफू सशक्त भएर विभिन्न समुदाय, समाज र देशको, हक हितको लागि लड्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । ‘म जुन समुदायको हो त्यो समुदायको मात्र आवाज उठाउने होइन । ‘देशमा रहेको विकृति, विसंगति अन्त्यको लागि आवाज उठाउने मेरो दायित्व हो ।’ कानूनकी विद्यार्थी समेत रहेकी मनुले भनिन् ।
विश्वकर्माले शिक्षा केवल डिग्रीका लागि नभएर, समाज परिवर्तनको औजार हो भन्ने विश्वास उनको जीवनदर्शनमा स्पष्ट देखिन्छ । यही चेतनाले उनलाई साहित्य, समाजसेवा र राजनीतिमा सक्रिय बनाएको उनको निष्कर्श छ । साहित्यिक यात्रा शुरु गरेको ३२ वर्षपछि उनी सांसद्को भूमिका र संसद्को यात्रा तय गर्न सफल भईन् । २०५० सालबाट उनको साहित्यिक यात्रा शुरु भएपनि २०७० सालमा प्रकाशित कविता संग्रह ‘ऐंजेरु बिच बुकी’कृतिले उनलाई नेपाली साहित्यमा चिनायो । प्रतिनिधि पत्रिकामा प्रकाशित …सुमधुर साँझ’ र ‘आजको जिन्दगी’ मनुका पहिलो प्रकाशित रचना हुन् । उनका सिर्जना गीत, कविता र कथामा समान अधिकार, पीडा, प्रेम र विद्रोह प्रमुख विषय देखिन्छन् ।
उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् भने विभिन्न साहित्यिक तथा सांस्कृतिक समारोहमा उनले गीत गायनमार्फत पनि उपस्थिति जनाएकी छन् । मनु साहित्य र संगीत आफ्नो रुचिकर विधा मात्र नभई, सामाजिक हस्तक्षेपको माध्यम बनेको बताउँछिन् ।
साहित्यमा लेखिएका पीडालाई संसदमा नीति र कानुनमार्फत सम्बोधन गर्नुपर्छ भन्ने दृढ विश्वास उनका राजनीतिक कदमको आधार बनेको छ । विश्वकर्माका अनुसार, उनका लेखनका प्रेरणाका स्रोत अग्रज स्रष्टाका कृतिहरू, जीवन र प्रकृतिसँगको सान्निध्यता तथा देश, समाज र समयको प्रतिविम्ब भएको बताउँछिन् । उनका सिर्जनामा समेत आफ्नो वर्गको सामाजिक विभेदको अन्त्य र महिला अधिकारका विषयमा वा समाजले भोगिरहेको यथार्थ नै उनका शब्दहरूको मूल शक्ति भएको उनको भनाई छ ।

साहित्य र राजनीतिमा मात्र होइन, संस्थागत नेतृत्वमा पनि विश्वकर्माको सक्रियता उल्लेखनीय छ । उनी दलित महिला संघ, धनकुटाकी पूर्व अध्यक्ष हुन् । विश्व नारी नेपाली साहित्य सम्मेलन, धनकुटाको पूर्व अध्यक्षका रूपमा उनले महिला स्रष्टाहरूलाई संगठित गरिन् । गर्गाचार्य विश्वभाषा पुस्तकालय, धनकुटामा कोषाध्यक्षको भूमिका निर्वाह गरेकी उनी हाल क्षितिज साहित्य प्रतिष्ठान, बिर्तामोडकी सदस्य हुन् । नेपाली लेखक संघ कोशी प्रदेशकी सदस्यका रूपमा पनि उनी उत्तिकै सक्रिय छिन् । उनले तीन वर्षजति झापाको विर्तामोडस्थित एभरेष्ट एकाडेमीमा अध्यापन गराईन, त्यसपछि झापाकै निक्कै चर्चित देवी माध्यमिक विद्यालय विद्यालयमा सामाजिक शिक्षामा अध्यापन गराईन् । जब पार्टीले उनको नाम समानुपातिक सूचीमा हाल्यो त्यसपछिदेखि चाँहि उनले शिक्षण पेशाबाट विश्राम लिईन् । आगामी दिनमा राज्यका हरेक तहमा वञ्चित तथा पछाडी परेका दलित वर्गको समानुपातिक सहभागिताका लागि कानून कार्यान्वयनका लागि सशक्त र जोडदार आवाज उठाउने, शिक्षा, स्वास्थ्य रोजगार तथा आर्थिक जस्तो महत्वपूर्ण आधारभूत कुरामा पहुँच पुर्याउन सरकारसँग विशेष सहुलियतका कार्यक्रमका लागि जोड दिर्दै जातीय विभेदलाई अन्त्य गर्न महिलाका हक, हित अधिकार सुनिश्चित गर्न थप ऐन, कानून निर्माणमा आफ्नो पहल रहने उनको भनाई छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.