ज्योतिष भाग्यमा मात्र विश्वास गरेर बस्नुपर्छ भन्ने शास्त्र होइन :- ज्यो.पं तुलसी भारद्वाज निरौला

A notice in Nepali from Mechinagar Ward No. 10

झापाको मेचीनगर -७ काँकरभिट्टामा माता बिष्णुमाया र पिता देवीप्रसाद निरौलाको तीन सन्तानमध्ये जेष्ठ सुपुत्रका रुपमा जन्मिएका तुलसी भारद्वाज निरौला एक दशकदेखि ज्योतिष शास्त्रलाई कर्म क्षेत्र बनाएर अघि बढेका छन् । युवा पण्डित तथा ज्योतिषी तुलसी भारद्वाज निरौलाले ज्योतिषमा आचार्य अर्थात स्नातकोत्तर गरेका छन् । सनातन परम्परा र पूर्वीय दर्शनलाई वैज्ञानिक र तार्किक रुपले प्रस्तुत गर्ने उनी टेलिभिजन, एफएम र युट्युबका(युट्युबमा Tulasi Guru) का माध्यमबाट आफ्ना कार्यक्रम र विचारहरु प्रस्तुत गर्ने गर्दछन् ।
आज हामी उनै युवा, ज्योतिषी, पण्डित तुलसी भारद्वाज निरौलासँग मेरो मेचीनगर डट कमका लागि सिएन गौतमले तयार पारेको अन्तर्वाता प्रस्तुत गर्दैछौँ ।


ज्योतिष कति आवश्यक छ ?
यसको सटिक जवाफ के हुन सक्छ भने ।आइतबार सन डे, सोमबार मून डे , यो किन राखेका होला ?त्यसको नाम किन फरक फरक भए होलान् ? वास्तवमा देखिने ग्रहहरु ७ वटा छन् यी ग्रहरुको धेरै प्रभाव रहन्छ । त्यसैले ७ वटा बारको नाम राखिनुपर्छ र ७ दिनको कर्म क्षेत्र ,कर्म गति बनाउनुपर्छ भनेर विश्वका देशहरुले फरक सम्वत,फरक महिना मनाए तर बार भने एउटै तरिकाले ,एउटै संख्यामा ,एउटै खण्डमा त्यसकै क्रम अनुसारले चल्ने गरेको पाइन्छ। यस अर्थमा संसारमा ग्रहको भूमिका छ र ग्रहको भूमिका हेर्ने शास्त्र नै ज्योतिष शास्त्र हो । त्यस अर्थमा ज्योतिष शास्त्र आवश्यक छ ।मैले यो सानो उदाहरण मात्र दिएँ ।यो वृहत् रुपमा तथा तार्किक अनुरुप रहेको शास्त्र हो।


विज्ञान र ज्योतिषका कस्ता कुरहरु मिल्छ्न् ?
हाम्रो पूर्वीय जगतमा चिना बनाउछौँ । जसले चिना बनाउछौँ त्यहाँ घटी र पलाको कुरा उल्लेख गरेको हुन्छ । यसले जन्मेको समय बताउँछ । त्यसैगरी ज्योतिषको समयको गणनाको युनिट मिनेट,घण्टा ,दिन ,३० दिनको १ महिना,१२ महिनाको १ वर्ष हुबहु ज्योतिषशास्त्रसँग विज्ञानको मिल्छ ।
हरेक चिज ग्रह गणना पद्धति अन्तर्गतमा ग्रहलाई खोज्ने पद्धति यहाँ पृथ्वीमा बसेर ९० हजार वर्ष पहिले नै शुरु गरेका थिए । त्यति मात्र होइन अब १० वर्षपछि कहिले र कुन दिनमा ग्रहण लाग्न सक्छ भनेर समेत गणना गर्न सक्ने क्षमतावान् ज्योतिष गुरुहरु हुनुहुन्छ । कुनै पनि विज्ञानका सामाग्रीको प्रयोग नगरी नै पृथ्वीमा बसेर ग्रहरु घुमिरहेका छन् भन्ने कसरी थाहा हुन्छ ? ज्योतिष शास्त्र कति विज्ञानपरक छ भन्ने अनुमान हामीले यहाँबाट लगाउन सक्छौं ।


वास्तु र ज्योतिषमा के फरक छ ?
वास्तु शात्र र ज्योतिष शास्त्र फरक विषय हुन् । प्रभाव फरक पर्छ। तर मनाव प्रभावका दृष्टिकोणले हेर्ने हो भने ज्योतिषमा ग्रह दशा राम्रा चलेका बेलामा व्यक्तिको प्रगति उन्नति हुन्छ तर खराब स्थानमा बसेको र वास्तु दोष छ भने मन र मस्तिष्कमा नकारात्मक दुश्प्रभाव पर्छ यति बेला यी दुवै शास्त्र एकै हुन् जस्तो लाग्न सक्छ।
जस्तो कुनै फल फल्नाका लागि बीउ,बिजन ,मौसम पनि राम्रो हुनुपर्छ ।यदि मौसम राम्रो छ तर बीउ राम्रो भएन भने पनि हुँदैन ।
शास्त्रगत हिसाबले हेर्ने हो भने ज्योतिष र वास्तु शास्त्र फरक कुरा हुन् तर नजिक नजिकका विषयहरु हुन् । यसलाई यसरी बुझौं। ५ जना मान्छेको ५ वटा चिना अलग अलग हुन्छ ज्योतिष शास्त्रबाट तर एउटै घरमा बस्ने मान्छेलाई वास्तु एउटै लागू हुन्छ ।
त्यहि भएर नेपाल संस्कृत विश्वविद्यालयले ज्योतिष शास्त्रको अध्यनको लागि उत्तर मध्यमा,शास्त्री,आचार्यको पढाईको क्रममा ज्योतिषकै पुस्तक भित्र वास्तु शास्त्रको पनि पुस्तक थपिएको छ ।


ज्योतिषमा तपाईंको प्रवेश कसरी भयो?
म पूर्व झापाको मेचीनगरमा रहेको काँकरभिट्टा मा.वि कक्षा ८ मा पढ्दै गर्दा फेल भएँ ।भाइ योगेन्द्र जो अहिले चर्चित गायक र संगीतकारको रुपमा स्थापित हुँदैछ ऊ पास भएर ९ कक्षामा पुग्यो। म चाहिँ ८ मा फेल भएँ ।फेल भएपछि मलाई एकदमै लज्जा बोध भयो । बुवाले लगेर झापाको चारपाने वेद विद्याश्रम साङवेद संस्कृत माध्यमिक विद्यालयमा कक्षा ४ मा नाम लेखाइदिनु भयो । कक्षा ७ पास गरेपछि धरान आएँ । धरान पिण्डेश्वर विद्यालयमा ९ कक्षा पुगेपछि मलाई शिक्षकहरुले नै ज्योतिष पढ्दा ठीक हुन्छ भनेर विषय छनौट गरिदिनु भयो । त्यसपछि मैले २०५८ सालमा प्रवेशिका परीक्षा दिई सकेपछि भारतको बनारस गएर गुरु पण्डित गोविन्दसँग अनौपचारिक शिक्षा पद्धति अनुसार ज्योतिषको अध्यन गरेँ । त्यसपछि मैले ज्योतिषमा आचार्य पनि सकेँ ।


ज्योतिष अध्यन गरेपछि के गर्नु हुँदैछ ?
निरन्तर अध्ययन गर्दै मैले ज्योतिषको फलित शास्त्रमा आचार्य गरेर ५ वर्ष टेलिभजमा ,८ वर्ष रेडियोमा ज्योतिष कार्यक्रम चलाएँ।अहिले पनि नेपालभरिका २१ वटा एफएम स्टेशन ,केहि पत्रपत्रिका र मेरो तुलसी गुरु नामक युट्युव च्यानलमा कार्यक्रम चल्छन् म यसैमा खुसी छु । म भगवानलाई धन्यवाद भन्छु ।धन्न मलाई कक्षा ८ फेल गराइदिनु भयो ।त्यसपछि मैले यो क्षेत्रमा आउन पाएँ,बुझ्न पाएँ ।


मान्छेले कर्ममा विश्वास गर्नुपर्छ भन्छन् ।त्यसो भए ज्योतिषीको कुरा किन सुन्ने ?
ज्योतिष शास्त्र भाग्यमा मात्र विश्वास गरेर चुप लागेर बस्नुपर्छ भन्ने शास्त्र होइन ।
कर्म गर्नुपर्छ तर कुन बेला गर्ने ? कर्म गर्ने भन्दैमा पुसमा धान रोपेर हुन्छ र ? त्यसैले कर्म गर्न सहि साइत,सहि समयमा भयो भने सहि निर्णय हुन्छ,निर्णय सहि भयो भने उपलब्धि हासिल हुन्छ । त्यसैले आइपर्ने बाधा अवरोधहरुलाई उपचार गरेर सन्तुष्ट भएर अघि बढ्न पनि ज्योतिषको विश्वास गर्न आवश्यक छ । चिना हेरेर,जन्मकुन्डलीबाट भाग्य बताएर, कर्म गर्नप्रती मान्छेलाई उत्प्रेरित गर्ने भएकोले ज्योतिष कर्म प्राधान्य शास्त्र हो ।


अहिले भविष्वाणी गरेर समाजमा त्रास सृजना गर्ने ज्योतिषीहरु धेरै छन् ।यसलाई कसरी लिनुहुन्छ ?
ज्योतिष शास्त्रमा भविष्यवाणी गर्ने चलन छ । देशको भविष्यवाणी गर्ने ,पानी पर्ने ,मौसम बारे जानकारी दिने,रोग व्याधि संकटबारे भविष्यवाणी गर्ने, देशको प्रमुख व्यक्तिहरु तलमाथि हुने कुराहरु छ तर तथ्यपरक शास्त्र अध्य्यन गरेर ,विशिस्ट रुपमा प्रमाण सहित गर्नुपर्छ ।
जहाँ सम्म मलाई लाग्छ नेपाल संस्कृत विश्व विद्यालयका गुरुहरुले भविष्यवाणी गर्नु भएको छैन । केही साना गुरुहरुले कता कता गरेको छन् भनेको सुनेको छु तर यो अँध्यारोमा झटारो हाने जस्तो हो । अहिले बजार आएका भविष्यवाणी प्रावधान अन्तर्गत नभएर बाह्य ढंगबाट आएको छ ।


तपाईं आफ्नो कर्म क्षेत्र बाहेक अन्य के केमा आवद्ध हुनुहुन्छ ?
म सामाजिक काममा आवद्ध छु । काठमाडौंको कीर्तिपुरमा” बा- आमा घर” नामको वृद्दाश्रमलाई सहयोग जुटाउने काम गर्छु । त्यसैगरी” उज्ज्वल नक्षत्र “नाम गरेको दृष्टिविहीन साथीहरुले चलाउनु भएको संस्था छ । त्यसमा निशुल्क रूपमा अपंगता भएका साथीहरुलाई सीपमूलक तालिम दिने काम गर्छौं । त्यसैगरी नेपालका भूमिमा रहेका मठ मन्दिर ,सन्त समाजको जगेर्ना गर्ने ,प्रचार प्रसार गर्ने ,सबै साधु,सन्त,माहत्माहरुलाई एकबद्द गरेर सम्प्रदाय विशेषमा नगई सनातन परम्परा धर्मको मूल मन्त्र बुझ्न ” जोशबनी सन्त परम्परा ” बाट पूर्वीय सनातन परम्परामा आबद्द हुन सहकार्य गर्दैछौं । त्यसैगरी अनलाइनबाट नाता कुटुम्ब जोड्ने कार्यमा अघि बढेको छु । यो एउटा व्यावसायसँगै सेवा पनि हो ।देशभरिबाट विवाह गर्न इच्छुक केटाकेटीहरुको लागि ” लमी नेपाल डट कम” वेब साइट पनि छ ।


अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा भन्नू पर्दा कुनै पनि शास्त्र विधि विधान लामो समयसम्म रहिरहन्छ भने त्यसको आधिकारिक पक्षहरु पनि रहेका हुन्छन् । ज्योतिष शास्त्रमा प्रमाणीकता छ। त्यसैले सल्लाह ,सुझाव लिन योग्य ज्योतिषीसँग मात्र लिनुहोला । मलाई अझै नजिकबाट बुझ्न चाहनुहुन्छ भने मेरो अफिसियल युट्यब च्यानल तुलसी गुरु(Tulasi Guru)मा गएर हेर्न सक्नुहुन्छ । त्यसैगरि मलाई संसार देखाउने मेरा मातापिता,मेरागुरुहरु,अग्रजव्यक्तित्वहरु,आफन्तजन,इष्टमित्रहरू,शुभचिन्तकहरु साथै मेरो अन्तर्वार्ता लिने मेरोमेचीनगर अनलाइनलाई धेरै धेरै धन्यवाद प्रकट गर्दछु । सबैको भलो होस् । सबैको जय होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.