विराटनगर । वनको कर्मचारी र पत्रकार हौँ भन्दै फर्निचर व्यवसायीसँग रकम असुली गर्ने दुई जना पक्राउ परेका छन् ।
इटहरी–६ जुटबिकास बस्ने वर्ष ५० का दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका –७ का ५६ बर्षीय पुष्पप्रसाद सिग्देललाई मोरङको सिजुवाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
डर त्रास देखाई उनीहरुले विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रहरीको भनाई छ ।
असार ४ गते मोरङ रतुवामाई–१० मा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम लिएका दधिराम चौहानको साथबाट २५ हजार ९९५ नगद र पुष्प प्रसाद सिग्देलको साथबाट नगद ७ हजार तथा विभिन्न कागजात सहित ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुविरुद्ध ठगी कसूरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

























