एजेन्सी । युरोकप अन्तर्गतको शनिबार राति सम्पन्न खेलमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४-२ गोलले पराजित गरेको छ।
यसअघि पहिलो खेलमा जर्मनीलाई फ्रान्सले हराएको थियो। पोर्चुगलले भने हंगेरीमाथि जित निकालेको थियो।
शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। काउन्टर आक्रमणमा जोटाले दिएको पासमा रोनाल्डोले गोल गरे। खेलको ३५ मिनेटमा जर्मनीले बराबरी गर्न सफल भयो। जर्मनीका गोसेन्सले डिबक्समा हाभर्ट्जलाई पास दिएका थिए। उक्त पास क्लियर गर्ने क्रममा पोर्चुगलका रुबेन डियासले आफ्नै पोस्टमा गोल गर्न पुगे।
चार मिनेटपछि पोर्चुगलले दोस्रो आत्मघाती गोल गर्दा जर्मनीले अग्रता लियो। यसपटक किमिचको प्रहारलाई रोक्ने क्रममा पोर्चुगलका गुइरेरोले आफ्नो पोस्टमा बल छिराउन पुगेका थिए।
पहिलो हाफमा २-१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल गर्यो। यसपटक हाभर्ट्जले गोल गर्न सफल भए।
६० मिनेटमा जर्मनीका लागि रोबिन गोसेन्सले अर्को गोल गरेपछि जर्मनी ४-१ ले अघि बढ्यो।
६७ मिनेटमा पोर्चुगलका लागि जोटाले दोस्रो गोल गर्दा खेल ४-२ को अवस्थामा आएको थियो।
जितसँगै जर्मनीले समूह एफमा तीन अंक जोडेको छ। शीर्ष स्थानको फ्रान्सको चार अंक छ। फ्रान्सले आजै भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्यो। पोर्चुगलको पनि तीन अंक छ भने हंगेरीले एक अंक बटुलेको छ।
फ्रान्स विरुद्द हंगेरी
शनिबार नै सम्पन्न भएको पहिलो खेलमा युरो २०२० मा विश्वविजेता फ्रान्स सम्भावित हारबाट जोगिएको छ।
शनिबार राती हंगेरीको राजधानी बुडापेस्टमा भएको खेलमा फ्रान्सले घरेलु टिम हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो।
खेलमा अग्रता घरेलु टिम हंगेरीले लियो। हंगेरीका लागि पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अटिला फियोलाले गोल गरे।
६६ मिनेटमा फ्रान्सले बराबरी गोल फर्काउन सफल भयो। फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल गरे।
स्पेन विरुद्द पोल्यान्ड
आइतबार बिहान सम्पन्न खेलमा स्पेनले पोल्यान्डसग बराबरी खेलेको छ। अघिल्लो खेलमा पनि स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोकेको थियो।
खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। उनले मोरेनोको पासमा गोल गरेका थिए।
५४ औबमिनेटमा पोल्यान्डले बराबरी गोल गर्न सफल भयो। पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए।
५८ आउनेजाने मिनेटमा स्पेनले पेनाल्टी पायो। मोरेनोमाथि फल भएपछि पेनाल्टी दिइएको थियो। तर उनको प्रहार पोस्टमा लागेको थियो।
दोस्रो बराबरीसँगै स्पेनलाई अन्तिम १६ मा पुग्न गाह्रो हुने देखिएको छ। अन्तिम खेलमा स्लोभाकियालाई हराए मात्र स्पेनको अन्तिम १६ को सम्भावना हुनेछ।
खेलसँगै समूह ‘ई’ मा स्पेन दुई अंक जोडेर तेस्रो स्थानमा छ। शीर्ष स्थानको स्विडेनको चार अंक छ। स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा छ भने चौथो स्थानको पोल्यान्डले एक अंक जोड्न सफल भएको छ।

























