काँकरभिट्टा ,पौष २७ । इटालियन सिरी ‘ए’मा युभेन्टसले आफ्नो नवौं जित दर्ता गराएको छ । आइतबार राति युभेन्टसले सासुलोमाथि ३–१ गोलको सहज जित दर्ता गरेको हो ।
युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन डेनिलो, आरोन राम्से र क्रिस्टियानो रोनाल्डोले समान एक–एक गोल गरे । सासुलोका ग्रेजर डेफ्रेले एक गोल गरे ।
गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा नै पाहुना टोली दस खेलाडीमा सीमित बनेको थियो । खराब ट्याकलका कारण पेड्रो ओबियाङले मैदान छोडेका थिए ।
खेलको ५०औं मिनेटमा डेनिलोले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । ५८औं मिनेटमा डेफ्रेलले गोल गरेपछि सासुलो बराबरीमा फर्कियो ।
८२औं मिनेटमा आरोन राम्सेले गोल गरेपछि युभेन्टसले पुनः अग्रता बनाएको थियो । खेलको इन्ज्युरी समयमा रोनाल्डोले कीर्तिमानी गोल गर्दै युभेन्टसलाई ३–१ गोलले जिताए ।
यस गोलसँगै रोनाल्डोले क्लब र राष्ट्रबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी जोसेफ बिकानसँग बराबरी गरे । पोर्चुगिज स्टार रोनाल्डोले सात सय ५९ गोल गर्दै चेक रिपब्लिकनका बिकानसँग बराबरी गरेका हुन् ।
उनले केही समयअघि मात्र ब्राजिलियन लिजेन्ड पेलेलाई उछिनेका थिए । पेलेले सात सय ५७ गोल गरेका छन् ।
जितसँगै युभेन्टस चौथो स्थानमा उक्लिएको छ । त्यसबाहेक युभेन्टसले शीर्ष स्थानको एसी मिलानसँग अङ्कदूरी घटाएको छ ।
युभेन्टसले १६ खेलमा ३३ अङ्क जोडेको छ । शीर्ष स्थानको मिलानसँग ४० अङ्क छ । मिलानले युभेन्टसभन्दा एक खेल बढी खेलेको छ ।सासुलो भने २९ अङ्कसहित सातौं स्थानमा छ ।