बेंगलुरु भागदौड घटनाको अनुसन्धान तीव्र: विराट कोहलीलाई पक्राउ गर्न माग, आरसीबीका अधिकारी पक्राउ

काठमाडौं, जेठ २३: भारतको बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियम बाहिर रोयल च्यालेन्जर्स बैंगलोर (RCB) को विजय उत्सव मनाउने क्रममा भएको दुःखद भागदौडको घटनाको अनुसन्धान तीव्र पारिएको छ। यस घटनामा ११ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि सामाजिक सञ्जालमा क्लब र खेलाडीहरू पनि आलोचित हुन थालेका छन्।

विशेषगरी टोलीका स्टार खेलाडी विराट कोहलीलाई पनि पक्राउ गर्नुपर्ने मागसहित सामाजिक सञ्जालमा #ArrestKohli ह्यासट्याग ट्रेन्डिङमा आउन थालेको छ। प्रयोगकर्ताहरूले कोहली र अन्य खेलाडीलाई घटनाको गम्भीरता नबुझेको भन्दै आलोचना गरेका छन्। केहीले कोहलीले घटनापछि पीडित परिवारहरूसँग भेट्नुपर्नेमा उल्टै लन्डन उडेको भन्दै आलोचना गरेका छन्। यद्यपि, कोहलीलाई लन्डन जानुपर्ने भएकाले २ दिनपछि कार्यक्रम गर्न प्रहरीले आग्रह गरेको थियो र सो आग्रह नमानी कार्यक्रम त्यति चाँडो गरिएका कुराहरू बाहिर आएका छन्, जुन हालसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।

कोहलीको पक्षमा पनि आवाज
तर, धेरैले कोहलीको पक्षमा पनि आवाज उठाएका छन्। उनीहरूको भनाइ छ— “खेलाडीहरूको काम मैदानभित्र सीमित हुन्छ। कार्यक्रम व्यवस्थापन, सुरक्षा र भीड नियन्त्रण आयोजक संस्थाहरूको जिम्मेवारी हो।”

घटनाक्रम र कारबाही
पहिलोपटक आईपीएल ट्रफी जितेको खुसियाली मनाउन बेंगलुरु पुगेको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) टोलीलाई ‘हिरोको रूपमा स्वागत’ गरिएको थियो। मंगलबार राति उपाधि जितेपछि बुधबार बिहान टोली बेंगलुरु आइपुगेको थियो। कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले विधान सौधमा खेलाडीहरूलाई सम्मान गरेका थिए। त्यसपछि चिन्नास्वामी रंगशालामा उत्सवको आयोजना गरिएको थियो।

तर, रंगशाला बाहिर हजारौँ समर्थक भेला हुँदा ठेलमठेल र भागदौड मच्चिएको थियो। भीड व्यवस्थापनमा चुक्दा भएको भागदौडमा ११ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए। यति ठूलो दुर्घटना हुनसाथ कार्यक्रम रोक्नुपर्ने माग उठे पनि, रंगशाला भित्र भने उत्सव जारी राखिएको थियो। स्टार खेलाडी विराट कोहली र कप्तान राजत पाटीदारले समर्थकलाई सम्बोधन गरेका थिए।

यस घटनाको अनुसन्धानका लागि प्रहरीले आरसीबीमाथि बिना अनुमति कार्यक्रम आयोजना गरेको, लापरवाह सुरक्षाको कारण मृत्यु भएको भन्दै एफआईआर दर्ता गरिसकेको छ। आरसीबीका मार्केटिङ प्रमुख निखिल सोसाले, तथा कार्यक्रम व्यवस्थापन कम्पनी डिएनए इन्टरटेन्मेन्टका दुई उच्च अधिकारीहरूलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

मुख्यमन्त्री सिद्धरामैयाको निर्देशनमा बेंगलुरु प्रहरी प्रमुखसहित सात जना प्रहरी अधिकारी निलम्बनमा परेका छन्। घटनाको थप छानबिनका लागि एक सदस्यीय न्यायिक आयोग गठन भइसकेको छ जसले ३० दिनभित्र प्रतिवेदन दिनुपर्नेछ।

अब कोहली र अन्य खेलाडीमाथि नै कानुनी कारबाहीको माग उठिरहेको छ, जसले यो घटना थप राजनीतिक र सामाजिक बहसको विषय बनेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.