लक्ष्मी उप्रेती
७ जेठ, मेचीनगर : नाइट चेस क्लब काँकरभिट्टाले जेठ ११ देखि १५ गतेसम्म राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिता–२०२६ आयोजना गर्ने भएको छ । प्रतियोगिता दुईवटा इभेन्टमा सञ्चालन गर्न लागिएको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
एउटा खुल्ला जस्मा महिला र पुरुष खेलाडीहरुले सहभागिता जनाउने र अर्को राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता रहेको क्लबका अध्यक्ष विश्वविजय घिमिरेले जानकारी दिए । उनका अनुसार यसलाई ११ औं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको नाम दिइएको छ । यसमा महिला खेलाडीहरुबीच प्रतिस्पर्धा हुने बुद्धिचालका राष्ट्रिय खेलाडी समेत रहेका अध्यक्ष घिमिरेले जानकारी दिए । यो नेपालको सवैभन्दा ठुलो नेपाल बुद्धिचाल महासंघको कार्यक्रम हो । यस प्रतियोगिताबाट खुल्ला तथा राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताबाट नौ/नौ जना गरी कुल १८ जना खेलाडी छनौट गरीने छ ।
खुल्ला प्रतियोगिताबाट छनौट भएका नौ र बुद्धिचालका पूर्व च्याम्पियन एकजना गरी कुल १० र महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताबाट छनौट भएका नौ तथा महिला च्याम्पियन एकगरी १० खेलाडीहरु बीच हुने प्रतिस्पर्धाबाट एक/एक जना राष्ट्रिय च्याम्पियन हुने वरिष्ठ उपाध्यक्ष राजु पौडेलले जानकारी दिए । यस्तो प्रतियोगिता बुद्धिचाल महासंघले उपत्यका बाहिर विरलै रुपमा आयोजना गर्ने गरेको क्लबलले जनाएको छ । यसपटक नेपालको सुदूर पूर्व झापाको काँकरभिट्टामा सञ्चालन गर्नु यहाँको लागि गौरवको कुरा भएको अध्यक्ष घिमिरेले व्यक्त गरे ।

प्रतियोगिता सम्पन्न गर्न करीब १२ लाख रुपैयाँ खर्च लाग्ने क्लबले अनुमान गरेको, यसका लागि प्रत्येक खेलाडीबाट दर्ता शुल्क एकजार पाँच सय रुपैयाँ, मेचीनगर नगरपालिकाबाट समेत एकलाख रुपैयाँ बजेट विनियोजन भएको तथा बाँकी स्थानीय खेलप्रेमी, उद्योगी व्यवसायीहरुबाट आर्थिक संकलन गर्ने वरिष्ठ उपाध्यक्ष पौडेलले जानकारी दिए । खेलाडी दर्ता वापत एकलाख ५० हजार रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ । यो प्रतियोगिताले कोभिडलगायत विविध कारणले सुस्ताएको बुद्धिचाल प्रतियोगिता चलायमान हुने अपेक्षा गरीएको छ ।
क्लबले छनौटमा परेका नौ/नौ जना खेलाडीलाई जनही पाँच पाँच हजार रुपैयाँका दरले दिने भएको छ ।


























