मेचीनगर, झापा । मेचीनगर-८ नकलबन्दामा जारी तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा धुलाबारी फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न रोमाञ्चक क्वार्टरफाइनल खेलमा पूर्वेली युवा क्लब बिर्तामोडलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै धुलाबारीले अन्तिम चारको यात्रा तय गरेको हो।
निर्धारित ७० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। पेनाल्टीमा धुलाबारीका अरुण मेचे, सिमन थापा, राजु दर्जी, निरोज अली र सञ्जोक भुजेलले गोल गरे। पूर्वेलीका दिवस गुरुङको प्रहारलाई धुलाबारीका गोलरक्षक देवान भुजेलले उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका भुजेल खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुँदै नगद १,५०० र ट्रफी प्राप्त गरे।
विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा भइरहेको यस प्रतियोगितामा १० टोलीको सहभागिता छ। शनिबारको खेल डिएफसी बाहुनडाँगी र पूर्णिमा युवा क्लब भद्रपुरबीच हुने आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले जनाएको छ। प्रतियोगिताको फाइनल खेल आगामी वैशाख ५ गते हुनेछ, जसको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।



























