भद्रपुर, बैशाख ५ ।भद्रपुरमा आज शनिबारदेखि सुरु भएको नेपालकै सर्वाधिक पुरस्कार राशिको प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको छ।
एकपक्षीय खेलमा आर्मीले पोखराको आरएस फुटबल क्लबलाई ६–० गोल अन्तरले पराजित गर्यो। आर्मीले खेलको ११औँ मिनेटमै अग्रता लिएको थियो। दिपा शाहीले पहिलो गोल गर्दै टिमलाई सुरुआती बढत दिलाइन्।
२६औँ मिनेटमा बिमला चौधरीले आकर्षक चिप प्रहारमार्फत अग्रता दोब्बर बनाइन्। त्यसको दुई मिनेटपछि नै सञ्जु कुमालको क्रसमा वान-टच गोल गर्दै चौधरीले आफ्नो दोस्रो गोल गरिन्।
३५औँ मिनेटमा चन्द्रा भण्डारीले हेडमार्फत गोल गर्दै पहिलो हाफमा आर्मीलाई ४–० को बलियो अग्रता दिलाइन्।
दोस्रो हाफमा पनि आर्मीले आफ्नो दबदबा कायम राख्यो। ५०औँ मिनेटमा जेनिफर राना मगरले पाँचौँ गोल थपिन् भने ६२औँ मिनेटमा चन्द्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित ६–० ले सुनिश्चित गरिन्।
आरएस पोखरा खेलभर प्रभावहीन देखियो र आर्मीको पोस्टमा कुनै उल्लेखनीय आक्रमण गर्न सकेन।
खेलको ‘प्लेयर अफ द म्याच’ आर्मीकी बिमला चौधरी घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरिन्।
भोलि (आइतबार) हुने दोस्रो खेलमा भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, थिम्पु सिटी क्लब (भुटान), चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमी, सशस्त्र प्रहरीको एपीएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्ट्स क्लबको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। महिला फुटबलतर्फ यो पुरस्कार राशि नेपालकै सर्वाधिक मानिएको छ।
त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ।


























