Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह पर्यटन / भ्रमणचराहरूको स्वर्ग बन्दै मेचीनगर

चराहरूको स्वर्ग बन्दै मेचीनगर

झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ।

यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहेका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताए।

धेरै चरा पाइने देशको सूचीमा नेपाल २२ औं स्थानमा छ। नेपालमा ९०० प्रकारका चरा पाइएकामा २५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने उनको भनाइ थियो। विशेषज्ञ खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेंसीबजार क्षेत्र चराको राजधानी नै हो।

मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरू भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उनले बताए। चराका लागि मेचीनगर अनुकूल बासस्थान भएकाले पाहुना चरा आउने क्रम पनि बढेको छ।

मेचीनगर–६ काँकडभिट्टस्थित ‘इस्टपोइन्ट फोटो एण्ड भिडियोग्राफर’का सञ्चालकसमेत रहेका उनले विगत तीन वर्षदेखि चराको फोटो खिच्ने र संरक्षणका लागि चेतना फैलाउने कार्य गर्दै आएका छन्।

‘मेचीनगरलाई चरा अवलोकनका निम्ति पर्यटकीय रूपमा विकसित गर्न सकिने सम्भावना छ’, खरेलले भने, ‘चरा प्रकृतिका अमूल्य उपहार हुन् यिनको संरक्षण हामी सबै मिलेर गर्न जरुरी छ।’

चिसो मौसममा बिहान ७ बजेदेखि ९ बजेसम्म र गर्मी मौसममा ६ बजेदेखि ८ बजेसम्म चराको खोजीमा निस्कने ४५ वर्षीय खरेलको दैनिकी नयाँ चरा पत्ता लगाउनैमा बित्ने गरेको छ।

आगामी चैतसम्ममा मेचीनगरमा चराको फोटो प्रदर्शनी गरेर यहाँ पाइने चराका प्रजातिबारे जानकारी गराउने सोच बनाउनुभएका उनले सवा लाखको क्यामेरामा डेढ लाखको लेन्स प्रयोग गरी चराको फोटो सङ्कलन गरिरहेका छन्।

घुमुवा (उडिसा) जातिले चराको सिकार गरेर खाने गरेकाले तत्काल मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गर्नुपर्नेमा विशेषज्ञ खरेलले जोड दिए।

मेचीनगर क्षेत्रमा आठ सामुदायिक वन रहेका हुँदा विभिन्न प्रजातिका चरा पाइने गरेको जानकारी दिँदै सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष बेदप्रसाद भण्डारीले खरेलजस्ता चराको अध्ययन र अनुसन्धानमा रहेको व्यक्तिलाई सहयोग गर्ने बताए।

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु