इलाम : नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको इलामको माइजोगमाई गाउँपालिका–२ तुम्लिङ क्षेत्रमा पर्यटन सुरक्षासम्बन्धी चुनौती गम्भीर बन्दै गएको छ। भारतसँग सीमा जोडिएको यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरूको चाप बढ्दै गएपछि सुरक्षा व्यवस्थापन र कानुनी संरचनामा विभिन्न समस्या देखिएका छन्। समुद्री सतहदेखि २,९७० मिटर उचाइमा रहेको यो क्षेत्रका होटल तथा होमस्टे व्यवसायी पर्यटन नीति तथा कानुनबारे अपरिचित रहेका कारण सुरक्षा जोखिम बढेको सरोकारवालाहरूको निष्कर्ष छ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश होटल तथा होमस्टे विना दर्ता रहेको पर्यटन कार्यालय काँकरभिट्टा र माइजोगमाई गाउँपालिकाले जनाएको छ। व्यवसायीहरू पर्यटन कानुनबारे अनविज्ञ भएका कारण उनीहरू कानुनी जटिलतामा पर्न सक्ने खतरा रहेको छ। विशेषगरी, भारतीय ट्राभल व्यवसायीहरू मार्फत भारतीय तथा अन्य मुलुकका पर्यटकहरू नेपाल प्रवेश गराउने क्रम बढेपछि कानुनी समस्या थप जटिल बन्दै गएको छ।
सीमापार पर्यटक आवागमन र कानुनी चुनौती
भारतीय पर्यटकलाई सहज प्रवेश दिने प्रचलन रहे पनि अन्य मुलुकका नागरिकलाई भिसा विना नेपाल प्रवेश गराउनु कानुनी रूपमा अवैध छ। यदि कुनै अप्रिय घटना भएमा होटल तथा होमस्टे सञ्चालकहरू कानुनी कारबाहीमा पर्न सक्ने सम्भावना रहन्छ। यसले पर्यटन व्यवसायलाई नै असर पार्ने भएकाले कानुनी प्रावधानको पालना अनिवार्य रहेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ।
यस समस्यालाई सम्बोधन गर्न कोशी प्रदेश पर्यटन वर्ष २०८२ को अवसरमा पर्यटन कार्यालय काँकरभिट्टाले तुम्लिङमा दुई दिवसीय पर्यटन सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना तथा नमस्ते कञ्चनजङ्गा पर्यापर्यटन संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे प्रमुख अतिथि रहेका थिए।
अध्यक्ष थेवेले सबै पर्यटन व्यवसायीलाई अनिवार्य रूपमा गाउँपालिकामा दर्ता गराउन आग्रह गर्दै विना दर्ता व्यवसाय सञ्चालन गर्दा स्थानीय सरकारले राजस्व गुमाउनुका साथै भौतिक पूर्वाधार विकासका लागि आवश्यक बजेटको अभाव हुने बताए। कानुनी रूपमा व्यवसाय सञ्चालन नगर्दा व्यवसायीहरू नै जोखिममा पर्ने भएकाले सूचीकृत प्रक्रिया अपनाउनुपर्ने उनको सुझाव थियो।
पर्यटन कानुनको व्याख्या र सुझाव
पर्यटन कार्यालयका अधिकृत निरज कट्टेलले पर्यटन व्यवसायलाई कानुनी ढाँचामा ल्याउनका लागि व्यवसायीहरूलाई आवश्यक कानुनी जानकारी गराए। अध्यागमन कार्यालय काँकरभिट्टाका गम्भीर राईले विदेशी पर्यटकको नेपाल प्रवेशसम्बन्धी कानुनी प्रक्रिया स्पष्ट पारे भने पर्यटन प्रहरी सहायक हवल्दार उमेशजंग अधिकारीले पर्यटक सुरक्षाका उपायबारे जानकारी दिए।
कार्यक्रममा सहभागी नमस्ते कञ्चनजङ्गा पर्यापर्यटन संस्थाकी अध्यक्ष केदारी गुरुङले आफूहरूले सम्पूर्ण व्यवसाय दर्ता गराउने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “हामीले अहिलेसम्म पर्यटन सुरक्षाका विषयमा गम्भीर ध्यान दिएका थिएनौँ। यो सचेतना कार्यक्रममा सहभागी भएपछि अब कानुनअनुसार व्यवसाय सञ्चालन गर्नेछौँ।”
सुरक्षित र व्यवस्थित पर्यटनको आवश्यकता
कार्यक्रममा माइजोगमाई गाउँपालिकाकी उपाध्यक्ष प्रविना राई, नाटाका निवर्तमान अध्यक्ष उदय कुमार श्रेष्ठ, भारत सिलिगुडीस्थित हरेकृष्ण टुर ट्राभल्स एण्ड ट्रेकिङका सञ्चालक तथा गाइड भुवन जोशी लगायतको उपस्थिति रहेको थियो।
तुम्लिङ क्षेत्र नेपालको महत्त्वपूर्ण पर्यटकीय केन्द्र बन्दै गइरहेकाले यस क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने आवश्यक देखिएको छ। व्यवसाय दर्ता, कानुनी पालना, पर्यटक सुरक्षाका मापदण्ड र प्रशासनिक समन्वय मजबुत बनाउन व्यवसायी, स्थानीय पालिका र सरोकारवाला संस्थाहरूको ठोस पहल आवश्यक रहेको विज्ञहरूले बताएका छन्।