काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्र अव्यवस्था र अन्योलको अवस्थामा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। विजयादशमी २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राज्य प्रणाली, राजनीतिक नेतृत्व र देशको भविष्यप्रति तीखो प्रश्न उठाएका हुन्।
📌 मुख्य बुँदाहरू:
- पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक, संवैधानिक, न्यायिक र आर्थिक क्षेत्र अव्यवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
- उनले विजयादशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै देश किन अस्तव्यस्त स्थितिमा पुग्यो भनी प्रश्न उठाएका छन्।
- समस्या समाधानका लागि राष्ट्रिय एकता, सद्भाव र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।
देशको वर्तमान परिस्थितिप्रति असन्तुष्टि जनाउँदै पूर्वराजा शाहले मुलुकको समग्र प्रणालीमाथि नै प्रश्न गरेका छन्। उनले राज्य प्रणालीलाई सही दिशामा अघि बढाउने, प्रजातान्त्रिक आधारलाई बलियो बनाउने र अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन्।
देश अस्तव्यस्त हुनुको कारणबारे प्रश्न
शुभकामना सन्देशमार्फत पूर्वराजा शाहले मुलुकका विभिन्न क्षेत्रमा देखिएको अन्योलप्रति प्रश्न उठाएका छन्। ‘यतिबेला हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यवसायिक क्षेत्र अन्योल र अव्यवस्थाको अवस्थामा किन मौलन्छ?’ भन्दै उनले वर्तमान शासन प्रणाली र नेतृत्वको कार्यशैलीमाथि प्रश्न तेर्स्याएका छन्।
भू–राजनीतिक अवस्था र राष्ट्रिय एकताको आवश्यकता
देशको वर्तमान परिस्थितिमा विश्व परिवेश र भू–राजनीतिक अवस्थाको समेत गहिरो समीक्षा आवश्यक रहेको उनको जोड छ। राष्ट्रियता तथा मौलिकताका विषयमा गम्भीर बन्नुपर्ने उल्लेख गर्दै उनले देखिएका सम्पूर्ण समस्याहरूको निकासका लागि राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यको खाँचो रहेको बताएका छन्।


























