बजेट विवाद र सत्ता समीकरणको खेलले सुदूरपश्चिम प्रदेश सभा अनिर्णयको बन्दी बनेको छ भने लामो समयदेखि विधेयकहरू संसदीय समितिमै थन्किएका छन्।
📌 मुख्य बुँदाहरू:
- सुदूरपश्चिम प्रदेश सभाको बैठक नियमित हुन नसक्दा कानुन निर्माणको काम ठप्प बनेको छ।
- चालु आर्थिक वर्षको बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच चर्को विवाद कायम छ।
- मुख्यमन्त्रीसहित मन्त्रीहरूको राजीनामा माग गर्दै कांग्रेस संसदीय दलले प्रदेश सभा बैठक तुरुन्त सञ्चालन गर्न माग गरेको छ।
धनगढी, कात्तिक २० गते । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने तथा नीति निर्धारण र कानुन निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सभा अनिर्णयको बन्दी जस्तै बनेको छ । चालु आर्थिक वर्षको बजेट विवादका साथै सरकारले प्रदेश सभालाई चलायमान बनाउन नसकेका कारण पछिल्लो समय सभाको बैठक नियमित हुन सकेको छैन ।
एक महिनाको अन्तरालमा बसिरहेको प्रदेश सभा बैठक ऐन तथा कानुन निर्माणभन्दा पनि सत्ता गिराउने र टिकाउने खेलमै केन्द्रित देखिएको छ । सरकारले नयाँ ऐन, कानुन बनाउन सकेको छैन भने डेढ वर्षपहिले प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयकहरू पनि लामो समयदेखि विचाराधीन अवस्थामा संसदीय समितिमै थन्किएका छन् ।
बजेट विवाद र सत्ता समीकरणको खेल
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेट असफल भएपछि गठित नयाँ सरकारले असोजमा ल्याएको बजेट पनि विवादित बन्न पुगेको छ । बजेटप्रति सत्तापक्षकै चर्को आपत्ति रहेको छ भने पारिएत भइसकेको बजेटमाथिका कमीकमजोरी छानबिन गर्न सात सदस्यीय समिति गठन गरी सरकारले कार्य अगाडि बढाइरहेको छ ।
विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले बजेटकै कारण अहिलेको प्रदेश सरकार अलमलमा परेको र चलायमान बन्न नसकेको बताएका छन् । बजेट विवादलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश संसदीय दलले मुख्यमन्त्रीसहित मन्त्रीहरूको राजीनामा माग गरिसकेको छ । दलको बैठकले छिट्टै प्रदेश सभा सञ्चालन गर्नुपर्ने निर्णय गर्दै सभामुखको ध्यानाकर्षण समेत गराएको छ ।
कानुन निर्माणमा देखिएको उदासीनता
विगतका सरकारले बनाएका ऐन आवश्यकताअनुसार संशोधन गरेर कार्यान्वयन गर्नुका साथै आवश्यक नयाँ कानुन बनाउने कार्य गर्नुपर्नेमा सरकारको ध्यान नपुगेको सांसदहरूको गुनासो छ । प्रदेश सभा सदस्य रमेशसिंह धामीले दोस्रो प्रदेश सभाको कार्यकाल अन्तिमतिर पुग्दै गर्दा कानुन निर्माणजस्ता उल्लेखनीय कार्य हुन नसकेको बताएका छन् । प्रदेशमा बजेटकै कारण धेरै पटक सरकार फेरबदल भइसकेको छ ।
📄 प्रेस विज्ञप्ति / सूचना






