झापामा बढ्यो सहरीकरण, तर आगलागी नियन्त्रणका पूर्वाधार वर्षौंदेखि उस्तै

फायर हाइड्रेन्ट अभावले ठूला दुर्घटनाका बेला पानी भर्नै सास्ती, स्थानीय तहहरू पूर्वाधार व्यवस्थापनको तयारीमा जुटेका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
झापामा आगलागी नियन्त्रणका लागि तयारी अवस्थामा राखिएको दमकल

📌 मुख्य बुँदाहरू:

  • झापाका प्रमुख सहरहरूमा व्यापारिक भवन र बस्ती विस्तार तीव्र भए पनि आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वाधार विस्तार हुन सकेको छैन।
  • बिर्तामोडको एक घरमा भएको आगलागी नियन्त्रण गर्न पानी अभाव भएपछि नजिकैको होटलको स्विमिङ पुलबाट पानी तानेर आगो निଭाइएको थियो।
  • जिल्लाका प्रमुख सहरी क्षेत्र बिर्तामोड, भद्रपुर र दमकमा दमकलले सहज रूपमा पानी भर्न सक्ने फायर हाइड्रेन्ट अझै छैनन्।
  • अग्नि नियन्त्रणका पूर्वाधार सुधार गर्न अर्जुनधारा र बिर्तामोडमा खानेपानी संस्थासँगको समन्वयमा हाइड्रेन्ट जडानको तयारी सुरु भएको छ।

झापाका प्रमुख बजार क्षेत्रमा व्यापारिक भवन, होटल र आवासीय संरचना थपिँदै गए पनि आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने पूर्वाधार भने वर्षौंदेखि फेरिन सकेको छैन। सहरीकरणसँगै व्यापारिक गतिविधि र बस्ती विस्तार तीव्र भइरहे पनि आपतकालीन अवस्थामा प्रयोग हुने पूर्वाधार कमजोर रहँदा ठूला दुर्घटनाको जोखिम कायमै रहेको छ।

यसको पछिल्लो उदाहरण गत बुधबार बिर्तामोड नगरपालिका-४ स्थित सिद्धार्थ होटलनजिकै भएको आगलागी हो। राजेश मण्डलको दुईतले घरमा लागेको आगो नियन्त्रण गर्न जिल्लाका सातवटा दमकल परिचालन गरिए पनि नजिकै पानी भर्ने निश्चित स्रोत वा फायर हाइड्रेन्ट नहुँदा सास्ती भएको थियो। करिब साढे पाँच घण्टापछि नियन्त्रणमा आएको उक्त आगलागीबाट झन्डै ६ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। दमकलले पानी भर्नका लागि टाढाका स्थानमा धाउनुपरेको थियो भने पानी तानेका मोटरमा विद्युत् अवरुद्ध हुँदा समस्या झनै बढेको थियो। अन्ततः नजिकैको सिद्धार्थ होटलको स्विमिङ पुलबाट पानी तानेर आगो नियन्त्रणमा लिइएको थियो।

पूर्वाधारको अभाव र क्षति

जिल्ला प्रहरी कार्यालयका अनुसार गत भदौ र असोजमा मात्र झापामा १९ वटा आगलागीका घटना भएका छन्। ती घटनाबाट १० करोड ७८ लाख ९२ हजार रुपैयाँभन्दा बढीको क्षति भएको तथ्यांक छ। भदौमा सातवटा घटनाबाट १२ लाख १० हजार र असोजमा १२ वटा घटनाबाट १० करोड ६६ लाख ८२ हजार रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

जिल्लाका प्रमुख सहरी क्षेत्र बिर्तामोड, भद्रपुर र दमकमा दमकलले सहज रूपमा पानी भर्न सक्ने फायर हाइड्रेन्टको व्यवस्था छैन। भद्रपुरमा नगरपालिका परिसरको मोटरबाट पानी भर्ने गरिएको छ भने टाढा आगलागी हुँदा खोला र खोल्साको पानी खोज्नुपर्ने बाध्यता छ। दमकमा पनि बजार क्षेत्रमा हाइड्रेन्ट नभएकाले पानी भर्न टाढा जानुपर्ने अवस्था रहेको छ।

दमकल सेवाको पहुँच र सुधारका प्रयास

झापाका सबै स्थानीय तहमा दमकल सेवा अझै उपलब्ध छैन। मेचीनगर, दमक, बिर्तामोड, भद्रपुर, गौरादह, शिवसताक्षी र अर्जुनधारा नगरपालिकामा मात्र दमकल छन्। सात गाउँपालिकामध्ये कमल गाउँपालिकामा मात्र दमकल उपलब्ध छ भने झापा, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा आगलागी हुँदा अन्य पालिकाबाट दमकल बोलाउनुपर्ने बाध्यता रहेको छ।

अग्नि नियन्त्रणका पूर्वाधार विस्तार गर्नुपर्ने आवाज बढ्दै गएपछि केही स्थानीय तहले तयारी थालेका छन्। अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले खानेपानी संस्थासँग समन्वय गरी दमकलका लागि निश्चित स्थानमा हाइड्रेन्ट राख्ने तयारी भइरहेको बताएका छन्। त्यस्तै, बिर्तामोडमा पनि साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले प्रमुख चोक तथा बजार क्षेत्रमा हाइड्रेन्ट जडान गर्ने तयारी गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पनि स्थानीय तहसँग समन्वय गरेर पानीको स्रोत र आवश्यक पूर्वाधार व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.