खाद्य व्यवस्था कम्पनीद्वारा धान खरिदको कोटा कटौती, सस्तोमा धान बेच्न बाध्य किसान

कैलालीमा सरकारी खरिद लक्ष्य घट्दै जाँदा किसानहरू लागत उठाउनसमेत वञ्चित बनेका छन् भने व्यापारीको सस्तो मूल्यमा अन्न बेच्न बाध्य भएका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
कैलालीको टीकापुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रमा धान बेच्न लाइनमा बसेका किसानहरू

📌 मुख्य बुँदाहरू:

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पछिल्ला तीन वर्षदेखि कैलालीमा धान खरिदको कोटा लगातार घटाउँदै लगेको छ।
  • आर्थिक वर्ष २०८१/०८२ मा ५४ हजार क्वीन्टल धान खरिद गरेको कम्पनीले चालु आर्थिक वर्षमा ३० हजार क्वीन्टल मात्र खरिद गर्ने लक्ष्य लिएको छ।
  • खरिद कोटा सीमित हुँदा र लामो समय पालो कुर्नुपर्दा किसानहरू सरकारले तोकेको समर्थन मूल्यभन्दा सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य छन्।
  • सरकारले चालु आवका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३,६६० र मध्यम धानको ३,८६० रुपैयाँ निर्धारण गरेको छ।

कैलालीमा धान उत्पादनमा किसानलाई प्रोत्साहन गर्न सरकारले न्यूनतम समर्थन मूल्य तोक्दै आए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने धान खरिदको कोटा वर्षेनी घटाउँदै लगेको छ। सरकारी स्वामित्वको यस कम्पनीले टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुर खरिद केन्द्रमार्फत धान सङ्कलन गर्दै आए पनि पछिल्लो समय कोटा घटाइएका कारण स्थानीय किसानहरू मारमा परेका छन्।

कम्पनीका तथ्यांक अनुसार यस वर्ष कैलालीका विभिन्न खरिद केन्द्रबाट जम्मा ३० हजार क्वीन्टल मात्र धान खरिदको लक्ष्य लिइएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ५४ हजार क्वीन्टल र आर्थिक वर्ष २०८२/०८३ मा ३८ हजार क्वीन्टल धान खरिद गरेको कम्पनीले यस वर्ष परिमाण थप खुम्च्याएको हो। टीकापुर खरिद केन्द्रबाट ६ हजार ५ सय, सत्तीबाट ४ हजार ५ सय, भजनी र जोशीपुरबाट ३ हजार ५ सय तथा बाँकी धान मोहनपुर र गौरीगंगा केन्द्रबाट खरिद गरिने जनाइएको छ।

किसानका गुनासा र व्यापारीलाई सस्तोमा बिक्री

धान भित्र्याएको डेढ महिना बितिसक्दा पनि बिक्री गर्न नपाएको र केन्द्रले थोरै मात्र धान खरिद गर्ने भएकाले लागतसमेत उठ्न मुस्किल भएको किसानहरूको गुनासो छ। जानकी गाउँपालिका वडा नं. ७ का किसान सुक्रिम डगौरा थारुले आफूसँग तीन सय क्वीन्टल धान भए पनि खाद्यले सीमित परिमाणमा मात्र किन्ने भएकाले बाध्यतावश व्यापारीलाई सस्तोमा बेच्नुपरेको बताए।

त्यस्तै, टीकापुर नगरपालिका वडा नं. १ का किसान हिरालाल चौधरीले ट्याक्टर र डन्लपमा धान लिएर तीन दिनदेखि लाइनमा बस्दा पनि सबै उत्पादन नबिक्ने गरेको दुखेसो पोखे। व्यावसायिक किसान धनसिंह साउँदले एउटा किसानसँग ३० क्वीन्टलभन्दा बढी धान खरिद नगरिने नीतिले गर्दा सयौँ क्वीन्टल उत्पादन गर्ने किसानहरू मारमा परेको बताए। सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार छ सय ६० रुपैयाँ र मध्यम धानको तीन हजार आठ सय ६० रुपैयाँ निर्धारण गरे पनि कोटा सीमित हुँदा किसानले सो मूल्यको लाभ पाउन सकेका छैनन्।

खाद्य केन्द्रको प्रतिक्रिया

धान खरिद केन्द्र टीकापुरका प्रमुख पुष्पराज बजगाईंले भने तोकिएको लक्ष्यअनुसार नै किसानहरूलाई टोकन वितरण गरिएको बताएका छन्। तौल लिनका लागि किसानहरू लाइनमा बसेको र केन्द्रबाट सहज रूपमा धान खरिद भइरहेको उनको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.