नेप्सेमा सूचीकृत कुल २० अर्ब ८७ करोड कित्ताभन्दा बढी सेयरमध्ये ४ प्रतिशतभन्दा बढी हिस्साको अत्तोपत्तो छैन, जसले न कारोबारमा आउँछ न लाभांश पाउँछ।
📌 मुख्य बुँदाहरू:
- सेयर बजारमा हाल सूचीकृत कुल २० अर्ब ८७ करोड ८९ लाखभन्दा बढी कित्ता सेयरमध्ये ८४ करोड ६८ लाख कित्ताभन्दा बढी सेयर डिम्याट हुन सकेको छैन।
- डिम्याट अनिवार्य गरी एक दशक बितिसक्दा पनि सूचीकृतको करिब ४ प्रतिशत सेयर कागजी रूपमै सीमित रहेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।
- संस्थापक सेयरको लकइन अवधि, हराएका वा नष्ट भएका प्रमाणपत्रहरू तथा दोहोरो डिम्याट खाताका कारण यस्तो सेयर संख्या बर्सेनि बढ्दै गएको छ।
नेपालको सेयर बजारमा सूचीकृत कुल सेयरमध्ये ८४ करोडभन्दा बढी कित्ता सेयरको कुनै अत्तोपत्तो नभएको पाइएको छ। सूचीकृत कुल सेयर संख्या २० अर्ब ८७ करोड ८९ लाख ६३ हजार ६६६ कित्ता रहे पनि त्यसमध्ये ८४ करोड ६८ लाख ४९ हजार २१५ कित्ता सेयर न कारोबारमा आउँछ, न त त्यसले लाभांश नै लैजाने गरेको छ।
सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म सूचीकृतमध्ये २० अर्ब ३ करोड २१ लाख १४ हजार ४५१ कित्ता सेयर मात्रै डिम्याट भएको छ। डिम्याट खाता खोल्ने कार्य अनिवार्य रूपमा कार्यान्वयनमा आएको एक दशकभन्दा बढी समय बितिसक्दासमेत यति ठूलो मात्रामा सेयर डिम्याट नहुनुले बजारमा पारदर्शिता र कागजी प्रमाणपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ। अचम्मको कुरा त के छ भने, यस्तो अत्तोपत्तो नभएको सेयर संख्या घट्नुको सट्टा बर्सेनि बढ्दो क्रममा रहेको छ। ठिक दुई वर्षअघि डिम्याट हुन नसकेको सेयर संख्या ७५ करोड रहेकोमा दुई वर्षको अवधिमा करिब १० करोड कित्ता सेयर डिम्याटबाहिर थपिएको तथ्याङ्कले देखाएको छ। यद्यपि, हालसम्म ८१ लाख ४० हजार १३६ जनाको डिम्याट खाता खुलिसकेको छ तर खाताहरू दोहोरिएका वा तेहोरिएका कारण डिम्याट नभएको सेयर संख्या घट्न नसकेको अनुमान गरिएको छ।
संस्थापक सेयरको लकइन र कागजी प्रमाणपत्रको समस्या
सीडीएससीका डेपुटी म्यानेजर सुरेश न्यौपानेका अनुसार कतिपय कम्पनीका संस्थापक सेयरहरू सूचीकृत भए पनि तत्काल डिम्याट नहुँदा यस्तो संख्या बढेको हो। कम्पनीहरूले संस्थापक सेयरधनीलाई प्रमाणपत्र वा अन्य प्रमाणित पत्र उपलब्ध गराउने गर्दछन्। सर्वसाधारणलाई सेयर बाँडफाँट भएपश्चात् ३ वर्षसम्म संस्थापक सेयरमा लकइन अवधि रहने र सो अवधि खुलेपछि मात्रै सेयर बिक्री गर्न पाइने भएकाले लकइन अवधि खुल्ने बेलामा मात्रै यस्ता सेयर डिम्याट खातामा जम्मा हुने गरेका छन्।
त्यसैगरी, विगतमा जारी गरिएका थुप्रै सेयर प्रमाणपत्रहरू नष्ट भएको वा हराएको समेत हुन सक्ने अनुमान गरिएको छ। कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौड्यालका अनुसार अहिले पनि थुप्रै सेयरधनीहरू आफ्ना प्रमाणपत्रहरू हराएको गुनासो गर्दै बैंकमा आउने गरेका छन्। डिम्याट प्रक्रिया अनिवार्य भए पनि पुराना भौतिक सेयर प्रमाणपत्र समयमै अभौतिकीकरण नगराउँदा लगानीकर्ताले लाभांश र अन्य अधिकारबाट समेत वञ्चित हुनुपर्ने जोखिम बढेको छ।

