पाकिस्तानको कराँचीमा निर्माणाधीन छ तले भवन भत्किँदा उद्धार कार्य जारी, घटनामा संलग्न ४ जना पक्राउ
📌 मुख्य बुँदाहरू:
- कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, शनिबार थप चार वटा शव फेला
- घटनास्थलमा अझै कम्तीमा आठ जना बेपत्ता, उद्धार टोलीद्वारा खोजी कार्य तीव्र
- सिन्धका मुख्यमन्त्रीद्वारा तीन अधिकारी बर्खास्त र १६ कर्मचारी निलम्बनको निर्देशन
- कमसल सामग्री प्रयोग गरेको आरोपमा भवन मालिकसहित चार जना पक्राउ, मुद्दा दर्ता
पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा निर्माणाधीन छ तले भवन भत्किँदा मृत्यु हुने सङ्ख्या १२ पुगेको छ । भग्नावशेषबाट शनिबार थप चार जनाको शव निकालिएसँगै मृतकको सङ्ख्या बढेको उद्धार अधिकारीहरूले बताएका छन् । सिन्ध प्रान्तको कराँचीस्थित बालोच कोलोनीमा बुधबार भएको सो दुर्घटनामा परेर अझै पनि कम्तीमा आठ जना बेपत्ता रहेको जनाइएको छ ।
भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि उद्धार टोलीले भारी मेसिन तथा विशेष उपकरणहरूको प्रयोग गरिरहेको छ । भग्नावशेषमा थप मानिसहरू पुरिएको आशङ्कामा उद्धारकर्मीहरूले उच्च सतर्कताका साथ खोजी कार्य जारी राखेका छन् । यसअघि शुक्रबार करिब ५४ घण्टसम्म भग्नावशेषमा पुरिएका २८ वर्षीय मोहम्मद आदिललाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो ।
अधिकारीहरू निलम्बन र चार जना पक्राउ
घटनालगत्तै सिन्धका मुख्यमन्त्री मुराद अली शाहले लापरबाही गर्ने तीन अधिकारीलाई पदबाट हटाउन, १६ कर्मचारीलाई निलम्बन गर्न र घटनाबारे छानबिन गर्न कडा निर्देशन दिएका छन् । भवन निर्माणका क्रममा कमसल सामग्री प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
निर्माणमा लापरबाही गर्ने भवनका मालिक, निर्माणकर्ता, वास्तुकार तथा संरचनागत इन्जिनियरसहितका व्यक्तिहरूविरुद्ध प्रहरीमा औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले यस घटनाको अनुसन्धानलाई तीव्रता दिँदै हालसम्म चार जनालाई पक्राउ गरिसकेको छ ।







