जन्मजात तथा वंशाणुगत रोग समयमै पहिचान गर्न नसक्दा उपचार जटिल बन्ने गरेको छ भने प्रसूति अस्पतालमा यो सेवा निःशुल्क सुरु गरिएको छ।
📌 मुख्य बुँदाहरू:
- चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको छ।
- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २०८१ असोज २० गतेदेखि नवजात शिशु स्क्रिनिङ सेवा औपचारिक रूपमा सुरु गरिएको छ।
- अभिभावकमा पर्याप्त जनचेतनाको अभावले गर्दा अपेक्षाअनुसार सबै नवजात शिशु परीक्षणको दायरामा आउन सकेका छैनन्।
जन्मँदा स्वस्थ देखिने सबै शिशुहरू रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षणहरू जन्मेको केही दिनपछि मात्र देखिन थाल्छन्। त्यतिबेलासम्म रोगले गम्भीर रूप लिइसकेको हुन सक्छ र समयमै पहिचान हुन नसक्दा उपचार जटिल बन्नुका साथै शिशुको ज्यानै जाने जोखिम रहन्छ।
यस्तो जोखिम न्यूनीकरण गर्न जन्मेको केही दिनभित्रै गरिने नवजात शिशु स्क्रिनिङ अत्यन्त महत्वपूर्ण मानिन्छ। यस परीक्षणबाट बाहिरबाट स्वस्थ देखिने शिशुमा समेत लुकेर रहेका जन्मजात तथा मेटाबोलिक रोगको जोखिम पहिचान गर्न सकिन्छ। चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार नेपालमा हाल प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको छ। नवजात शिशु मृत्युदर घटाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि जन्मजात तथा वंशाणुगत रोग समयमै पहिचान गर्ने परीक्षण प्रणालीको विस्तार अहिलेको आवश्यकता बनेको छ।
प्रसूति अस्पतालमा निःशुल्क स्क्रिनिङ सेवा
यस, गम्भीर समस्यालाई ध्यानमा राखेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ असोज २० गतेदेखि नवजात शिशु स्क्रिनिङ सेवा औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालको बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. शैलेन्द्र वीर कर्माचार्यका अनुसार जन्मँदा सामान्य देखिने शिशुमा पनि मेटाबोलिक तथा वंशाणुगत रोग हुन सक्ने भएकाले लक्षण देखिनुअघि नै परीक्षण गरी जोखिम पहिचान गर्न सके उपचार निकै सहज हुन्छ।
“सुरुमा हेर्दा यसमा बढी लगानी गर्नुपर्ने जस्तो देखिए पनि दीर्घकालीन रूपमा यो निकै सस्तो हुन्छ। रोगको पहिचान र उपचार समयमै गर्न सकियो भने बच्चाले पछि धेरै दुःख पाउनुपर्दैन,” डा. कर्माचार्यले बताउनुभयो।
जनचेतनाको अभाव मुख्य चुनौती
प्रारम्भिक स्क्रिनिङमा कुनै रोगको जोखिम देखिएमा त्यसको पुष्टि गर्न थप परीक्षणहरू गरिन्छन्। स्क्रिनिङले रोगको सम्भावना मात्र देखाउने भएकाले त्यसैका आधारमा शिशुलाई रोग लागेको निष्कर्ष निकाल्न मिल्दैन। थप परीक्षणबाट रोग पुष्टि भएktan आवश्यक उपचार सुरु गरिन्छ। हाल अस्पतालमा यो सेवा निःशुल्क उपलब्ध गराइएको छ। तर, अभिभावकहरूमा यसबारे पर्याप्त जनचेतना नहुँदा अपेक्षा गरिएअनुसार सबै नवजात शिशुहरू परीक्षणको दायरामा आउन नसकेको चिकित्सकहरूको भनाइ छ।
📄 प्रेस विज्ञप्ति / सूचना











