कृष्ण सिञ्जाली
१३ मंसिर,काँकरभिट्टा : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८३ अन्तर्गत आज मेचीनगर–६ स्थित मेची डाँडाको नवज्योति टोल बिकासमा घरदैलो सचेतना तथा सूचना/पर्चा वितरण कार्यक्रम सम्पन्न भएको छ।
“लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता।” भन्ने राष्ट्रिय नाराका साथ नव अभियान नेपाल, काँकरभिट्टा शाखा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको महिला तथा बालबालिका शाखाको संयुक्त सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
नवज्योति टोल विकास संस्थाका अध्यक्ष पवित्रा राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायब निरीक्षक मिलनकुमारी राईले लैङ्गिक हिंसा के हो ? हिंसा कसरी रोक्न सकिन्छ ? हिंसा भएमा कहाँ सम्पर्क गर्ने र तत्काल सहयोग कसरी प्राप्त गर्ने लगायतका विषयमा जानकारी दिईन् । उनले मेचीनगरका वडा नं. ४ र १५ मा महिला तथा किशोरीका लागि सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक सम्बन्धी जानकारी समेत दिनुभयो। त्यस्तै, नव अभियान नेपालका बोर्डर स्टाफ अनिता गुरागाईँले लैङ्गिक हिंसा न्यूनीकरणमा समुदायको भूमिका बारे जानकारी गराईन् ।
कार्यक्रममा नव अभियान नेपालका क्षेत्रीय इञ्चार्ज इन्द्रबहादुर बस्नेत, बोर्डर इञ्चार्ज डिल्लीराम थापा मगर, प्रहरी सहायक हवल्दार अम्बिका तामाङ, अमृता लेप्चा, नव अभियान नेपालका बोर्डर स्टाफ स्मारिका दाहाल, अञ्जली बिष्टलगायत करिव चार दर्जन महिला तथा पुरुषको सहभागिता रहेको थियो।
कार्यक्रम अघि नवज्योति टोलका घर–घरमा पुगेर महिला, किशोरी तथा पुरुषलाई लक्षित गरी लैङ्गिक हिंसाविरुद्धका सूचना, पाम्प्लेट तथा ब्रोसर वितरण गरिएको थियो । त्यसपछि टोल विकास संस्थाको कार्यालयमा सामूहिक सचेतनामूलक कार्यक्रम गरिएको थियो।
कार्यक्रम मार्फत महिला तथा बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहारविरुद्ध सचेत रहन, हिंसा भएमा मौन नबस्न र आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।







