📌 मुख्य बुँदाहरू:
- तेह्रथुमको म्याङलुङ नगरपालिकामा स्थानीयस्तरमा छुर्पी उद्योग सञ्चालनमा आएपछि किसानलाई दुध बिक्री र नियमित भुक्तानीको सहज व्यवस्था भएको छ।
- हरिसेस्थित हाम्रो डेरीले दैनिक दुई हजार लिटर दुध सङ्कलन गरी छुर्पी र नौनी उत्पादन गर्दै आएको छ भने यसमा एक करोड २० लाख रुपियाँभन्दा बढी लगानी भइसकेको छ।
- उत्पादित छुर्पी प्रतिकिलो एक हजार १५० रुपियाँमा बिक्री हुने गरेको छ र यो झापाको बिर्तामोड हुँदै भारत तथा अन्य मुलुकसम्म निर्यात हुने गरेको छ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–६, हरिसे तथा आसपासका क्षेत्रका किसान गाईपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। गाउँमै दुध बिक्री गर्ने बजार र नियमित भुक्तानीको व्यवस्था भएपछि स्थानीय किसानको जीवनस्तरमा परिवर्तन आउन थालेको हो।
यसअघि दुध बिक्रीबापतको भुक्तानीमा विभिन्न समस्या झेल्दै आएका किसानले अहिले घरबाटै दुध बिक्री गरी मासिक रूपमा नियमित रकम पाउन थालेका छन्। म्याङलुङ नगरपालिका–६, हरिसेमा करिब दुई वर्षअघि सञ्चालनमा आएको हाम्रो डेरीले स्थानीय किसानबाट दैनिक रूपमा दुध सङ्कलन गर्दै आएको छ। फुर्दुकी शेर्पा र किपा शेर्पा दम्पतीले दुई वटा गाईबाट सुरु गरेको यो व्यवसाय अहिले छुर्पी तथा नौनी उत्पादन गर्ने ठूलो उद्योगका रूपमा विस्तार भएको छ। उद्योगमा हालसम्म एक करोड २० लाख रुपियाँभन्दा बढी लगानी भइसकेको सञ्चालक फुर्दुकी शेर्पाले जानकारी दिनुभयो।
गाउँमै रोजगारी र आम्दानीका नयाँ अवसर
उक्त उद्योगले हरिसे, चैते, मेक्चना, लसुने, अम्फुवा, काँडे, सोल्मालगायत आसपासका क्षेत्रबाट दैनिक दुई हजार लिटरसम्म दुध सङ्कलन गर्ने गरेको छ। सङ्कलित दुधबाट छुर्पी र नौनी उत्पादन गरिँदै आएको छ। स्थानीय कृषक पूर्ण शेर्पाका अनुसार गाउँमा डेरी सञ्चालनमा आएपछि पशुपालनबाट आम्दानीको नयाँ बाटो खुलेको छ। गाउँमा व्यावसायिक रूपमा गाई नपाल्ने परिवार भेट्टाउनै मुस्किल हुन थालेको उहाँको भनाइ छ।
यस्तै, म्याङलुङ नगरपालिका–६, सुर्केमा रहेको नवजीवन डेरी सहकारीले पनि स्थानीय किसानले उत्पादन गरेको दुध छुर्पी उद्योगलाई उपलब्ध गराउँदै आएको छ। सहकारीका सदस्य यादव अधिकारीका अनुसार सहकारीमा एक सयभन्दा बढी किसान आबद्ध छन् र दैनिक करिब छ सय लिटर दुधबाट कुराउनीसमेत उत्पादन हुँदै आएको छ।
अन्तर्राष्ट्रिय बजारसम्म नेपाली छुर्पी
उद्योग सञ्चालकका अनुसार उद्योगबाट मासिक करिब २० क्विन्टल छुर्पी र सात क्विन्टलसम्म नौनी उत्पादन तथा बिक्री हुँदै आएको छ। उत्पादित छुर्पी प्रतिकिलो एक हजार १५० रुपियाँमा बिक्री हुने गरेको छ। यहाँ उत्पादित छुर्पी झापाको बिर्तामोड हुँदै भारत तथा अन्य देशहरूमा निर्यात हुने गरेको छ। स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजार पाए पनि आफ्नै ब्रान्डमा विदेश पठाउन नसक्दा भारतीय व्यापारीमार्फत बिक्री गर्नुपर्ने बाध्यता रहेको सञ्चालकहरूको गुनासो छ।
📄 प्रेस विज्ञप्ति / सूचना
























