श्रम संस्कृति पार्टीका प्रमुख सचेतक राईले सरकारको ६–७ महिनाको कार्यशैलीमा प्रश्न उठाउँदै छिमेकी सम्बन्ध र राष्ट्रिय स्वाधीनतामा गम्भीर बन्न आग्रह गरेका छन्।
📌 मुख्य बुँदाहरू:
- वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजी र सामाजिक सञ्जालको अल्गोरिदममा केन्द्रित भएको श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईको आरोप।
- पञ्चशीलको सिद्धान्तअनुसार सबै देशसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने तर सार्वभौमिकतामा सम्झौता गर्न नहुने स्पष्टोक्ति।
- प्रधानमन्त्री र अर्थमन्त्रीका पछिल्ला अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसद्मा प्रश्न उठाइने चेतावनी।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजी र ‘फन्डा’को पछि लागेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले सरकारले गरेका कामको मूल्यांकन सामाजिक सञ्जाल र त्यसका अल्गोरिदमका आधारमा गर्न नहुने बताए।
वास्तविक उपलब्धि र परिणामका आधारमा मात्र कामको मूल्यांकन गरिनुपर्ने जोड दिँदै उनले भने, “सरकार परिणामभन्दा फन्डाको पछि लागेको छ। मैले बर्खे अधिवेशनको अन्तिम दिन पनि सदनमा भनेको थिएँ– सरकारले गरेका कामको मूल्यांकन गर्ने मापदण्ड सामाजिक सञ्जाल र अल्गोरिदम होइनन्। त्यसैले वर्तमान सरकारलाई परिणाममुखी भएर काम गर्न विनम्र अनुरोध गर्दछु।”

छिमेकी सम्बन्ध र राष्ट्रिय स्वाधीनतामा प्रश्न
कार्यक्रममा प्रमुख सचेतक राईले छिमेकी मुलुकसँगको सम्बन्ध र राष्ट्रिय स्वाधीनताका विषयमा पनि गम्भीर प्रश्न उठाए। उनले कुनै पनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु झुक्नुपर्ने अवस्था हुनु अत्यन्त दुःखद भएको टिप्पणी गरे। नेपालले पञ्चशीलको सिद्धान्त र बुद्धको विचारअनुरूप सबै राष्ट्रसँग सन्तुलित तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो।
“कुनै पनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु लम्पसार पर्नुपर्ने कस्तो राष्ट्रवाद हो? हामी कुनै पनि राष्ट्रको विरुद्धमा छैनौँ,” उनले भने, “पञ्चशीलको सिद्धान्तअनुसार सबै देशसँग सन्तुलित र सुमधुर सम्बन्ध राख्नुपर्छ। तर, यसको अर्थ आफ्नो सार्वभौमसत्तामा सम्झौता गर्नु होइन।”

सरकारका प्रमुखहरूको अभिव्यक्तिप्रति असन्तुष्टि
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राईले त्यसलाई सच्याउनुपर्ने माग गरे। सीमासम्बन्धी विषयमा सत्ता र प्रतिपक्षबीच मतभेद हुन नहुने उल्लेख गर्दै उनले राष्ट्रियता र देश निर्माणका सवालमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि प्रकट गर्दै उनले त्यसबारे संसद्मा प्रश्न उठाउने जानकारी दिए। राष्ट्रियताको पक्षमा उभिनु कुनै पनि राष्ट्रको विरोध गर्नु नभएको स्पष्ट पार्दै उनले राष्ट्रियता र सीमा जस्ता संवेदनशील विषयमा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर जिम्मेवार नागरिकका रूपमा उभिनुपर्ने बताए।


