राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र (बालेन) शाह चढेको निजी हेलिकप्टर खराब मौसमका कारण झापामा अवतरण गर्न नसकी काठमाडौँ फर्किएको छ।
बिहानै काठमाडौँको सिनामङ्गलस्थित अन्नपूर्ण इङ्लिस स्कुल मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेलगत्तै शाह चुनावी कमान्ड सम्हाल्न झापा प्रस्थान गरेका थिए। तर, झापा र आसपासको आकाशमा लागेको बाक्लो कुहिरो र प्रतिकूल मौसमका कारण हेलिकप्टर अवतरण गर्न जोखिमपूर्ण देखिएपछि चालकले जहाजलाई पुनः काठमाडौँतर्फ नै मोडेका हुन्।
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (DIG) विनोद घिमिरेले सुरक्षा र प्राविधिक कारणले हेलिकप्टर अवतरण हुन नसकेको पुष्टि गर्नुभएको छ। झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको कडा प्रतिस्पर्धामा रहेका शाहको उपस्थितिलाई सो क्षेत्रमा निकै चासोका साथ हेरिएको थियो। मौसम सुधार हुनासाथ उनी पुनः झापा प्रस्थान गर्ने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ।

