काँकरभिट्टा, २३ भदौ | स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दैं चर्काै व्याजदरमा ऋण काढेरै भएपनि हजारौ नेपाली युवा विदेश पलायन भईरहेका छन् । विदेशी भूमिमा भएभरको मिहनत र परिश्रम गरेर जिन्दगी जिउने नेपाली कामदारको संख्या निक्कै उच्च छ । तर, नेपालमै यस्ता थुप्रै उद्योग छन्, जसमा भारतीय कामदार बिना सञ्चालन हुदैनन् वा भारतीय कामदारको भरपर्नु परेको छ ।
झापाको मेचीनगरमा सञ्चालनमा रहेका अधिकाँश बेतबाँस उद्योग भारतीय कालिगढको भरमा चलेका छन् । स्वदेशमा दक्ष जनशक्ति नभएकै कारण ती उद्योगी व्यवसायीहरु भारतीय कालिगढको भर पर्न बाँध्य छन् ।
पछिल्लो समय नोवल कोरोना भाइरस कोभिड १९ का कारण सरकारले बन्दाबन्दी घोषणा गरेपछि सीमानाकामा आवतजावतलाई कडाई गरे पछि तिनै भारतीय मजदुरहरु समेत यतिखेर काममा आउन छाडेका छन् । जस्का कारण धेरै उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
भारतको पश्चिम बंगाल राज्य अन्तर्गत दार्जिलिङ जिल्लामा पर्ने शिलीगुडीका ५० वर्षीय रवि दास चारदशक अघिदेखि झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा व्यावसायीकरुपमा बेतबाँसका सामग्री बनाउँदै आएका छन् । बेतबाँसका सामग्री बनाउने सीप सिकेपछि अहिले उनको दिनचर्या नै फेरिएको छ । १० वर्षको उमेरमा काँकरभिट्टामै सिकेको यो सीपको कमाइबाट प्राप्त आम्दानीले उनको घर चलेको छ । रवि काँकरभिट्टामै बसेको ४० वर्ष भयो । यसैबाट मनग्य आम्दानी हुने रविको भनाई छ ।
मेची बेतबाँस उद्योग मेचीनगर—६ काँकरभिट्टामा कालिगढकारुपमा कार्यरत रवि मासीक २५ देखि ३० हजार रुपैयाँ कमाउछन् । यसैबाट प्राप्त रकमले घरको सवै खर्च टर्छ । बेतबाँसको सदुपयोग गर्न जानेपछि रविलाई कहिल्यै पनि आथिृक संकट परेको छैन् । रवि त एकजना प्रतिनिधि पात्र मात्र हुन् । झापाको मेचीनगरमा सञ्चालनमा रहेका अधिकाँश यस्ता उद्योग भारतीय कालिगढको भरमा चलेका छन् ।
“नेपालीहरु रोजगार खोज्दै विदेश जान्छन्” उनले भने “हाम्रोलागि विदेश नेपालमा नै छ, हातमा सिप र काला भए पैसा कमाउन टाढा जानु पर्दैन । “
उनकै श्रीमतीले समेत अहिले यसैबाट मनग्य आम्दानी गर्न थालेकीछन् । घरमा खाना पकाउने र अन्य काम गदैं आउनु भएपनि बेतबाँसको सामाग्री बनाउने सीप सिकेपछि यसको सही प्रयोग गर्ने थालेपछि दुई चार पैसाका लागि श्रमानको मुख ताकि रहनु नपर्ने उनी बताउछिन् । यो सीपले अहिले आफ्नो परिचय समेत बदलिएको बताउने उनी भविष्यमा आफु एउटा सफल उद्यमी महिलाको रूपमा परिचय बनाउने लक्ष्य लिइएको बताउछिन् ।
दास दम्पतीले बेतबाँसको प्रयोग गरी फर्निचर तथा विभिन्न सजावटका समान बनाउँदै आएका छन् । दास दम्पतीले यही बेतबाँसको कमाईबाट छोरा छोरीलाई शिक्षा दिन सफल भएका छन् । आफ्ना छोरा छोरीलाई स्थानीय एक निजी स्कुलमा भर्ना गरिदिएका छन् । छोरा कक्षा ७ मा र छोरी नर्सरीमा पढछन् ।
उनीहरु जस्तै भारतकै आलेपुरद्घारका ६० वर्षीय राजु सिहंले नेपालमै काम गर्न थालेको ४० वर्षभन्दा बढी भयो । मासिक १६ देखि २० हजार रुपैयाँ कमाई गर्नै सिहंको भारतमा रहेको परिवारको गुजरा यस्ले नै चलेको छ । सिहं बेतबाँसका सामग्रीबाट राम्रो आम्दानी गर्न सफल भएको बताउछन् । थोरै मेहनतमा बसी–बसी राम्रो आम्दानी हुने भन्दैं उनले यहि काम गर्न नेपालका अन्य ठुल्ठुला शहरमा समेत पुगेको बताउछन् । उनी ग्राहकाको माग अनुसारका सवै बेतबाँसका सामग्री बनाउन खप्पिस रहेको उद्योगीहरु बताउछन् । बेतबाँसका सामग्री बनाउँदै उनले छोरा र छोरीलाई पढाउनका साथै घरखर्च चलाउन सजह भएको बताए ।
मेचीनगर –६ स्थित पुरानो भन्सारमामात्र सय मिटरको दुरीमा आधा दर्जनबढी यस्ता उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगमा सवै भारतीय कामदार छन् । कति उद्योग त कामदार अभावमा बन्द भएका छन् ।
स्थानीय स्तरमा नेपाली कालिगढ नभएकै कारण आफुहरु भारतीय कालिगढको भरमा उद्योग चलाउन बाँध्य भएको मेची बेतबाँस उद्योगका सञ्चालक मुक्ति श्रेष्ठको भनाई छ । बेतको सामग्री निर्माण गर्ने नेपाली कालिगढ नहुँदा अधिकांश उद्योगले भारतीय कालिगढको भर पर्नुपर्ने तथा यसका लागि पर्याप्त कच्चा पदार्थ नपाइनु यहाँका उद्योगी व्यवसायीहरुको साझा समस्या भएको श्रेष्ठको भनाई छ । बेतबाँसबाट बनेका सामग्रीको माग बढ्दै गएकोमा उद्योगी उत्साहित भएपनि कच्चापदार्थ र दक्ष नेपाली कालिगढको अपुग हुने उनीहरुको भनाई छ । मेचीनगरका उद्योगमा अधिकाँश भारतीय कालिगढले काम गर्दै आएको उनीहरु बताउछन् ।
नेपाली युवा रोजगारीको खोजीमा दिनहुँ विदेश पलायन भइरहँदा हातमा सीप भएका भारतीय नागरिकले नेपालबाट बेतबाँसका विभिन्न सामग्री तयार गर्दै वार्षिक लाखौं रुपैयाँ विदेश लगिरहेका छन् । त्यसैलेपनि बेतबाँसबाट निर्माण हुने सामग्री बुन्ने सीप स्थानीय नेपाली युवाहरुलाई पनि सिकाउन जरुरी छ ।