१५ भदौं, मेचीनगर : रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि होटल मेची क्राउन (एचएमसी) मेचीनगर झापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै होटलले प्रभावित नागरिकको पीडामा साथ दिन उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ ।

आज संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडकराज पौडेललाई होटल सञ्चालक बलराम सापकोटाले उक्त रकम बराबरको सिटिजन बैक कमलादी शाखाको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरेको होटलले जनाएको छ ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको होटलले कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा सरकारी राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको बताइएको छ ।

सापकोटाले बाढीमा परी ज्यान गुमाउनेप्रति होटल परिवारकातर्फबाट भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । होटल स्रोतका अनुसार होटल मेची क्राउन विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ ।


























